चर्चित

किताबको झोला बोकेर ज्ञानको भकारी भर्ने समयमा पिडाको भारि र आँखामा पट्टी लगाएर बस्नुपर्ने हामी बिद्यार्थीको कस्तो बाध्यता? जिन्दगी सोचेर र रहर गरेर पुग्ने गन्तव्य होइन रहेछ । कल्पने कुरा अनि भोग्ने कुरामा  आकाश र जमिन जस्तै अन्तर हुँदो रहेछ। ओहो जिउनकै लागि फलामे चिउरा चपाउनु र पचाउनु पर्ने कस्तो कठिन!!
उफ्!

जिन्दगी जिउन कसैलाई सजिलो छैन! हेर्यो भने न कुनै पेशा सजिलो छ न कुनै काम ! पेशाकै कुरा गर्दा हामी विद्यार्थी हो हजुर हामी विद्यार्थी नै हौँ कृषिप्रधान देशको कृषि विद्यार्थी हौं | “नेपाल एक कृषि प्रधान देश हो, कृषि पढ कृषि, यसको स्कोप राम्रो  छ ।” कुनैबेला कृषि को पढाईलाई अत्ति तल्लो दर्जामा लिइने यहि देश मा अहिले माथिको लाइन एकदमै प्रचलित छ । कृषक भन्ना साथ गरिब दुखी अनि सहारा रहित नै हुन्छ भन्ने नेपाली समाजमा कृषि विद्यार्थी हुन नि कम चुनौतीपुर्ण छैन ! रहर अनि आफ्नो इच्छाले कृषि पढ्नेहरू बिरलै भेटिन्छन्, कृषि विद्यार्थीले कृषि कि MBBS मा नाम ननिस्केर पढ्छन् कि त इन्जिनियरमा नाम ननिस्केर ! भन्छन् सबैभन्दा सजिलो विषय रे; जसले नि पढ्न सक्छ कृषि तर विषय आफैँमा गार्‍हो त कुनै पनि हुँदैन नि हैन र ? विषय आफैंमा राम्रो नराम्रो नि हुने गर्दैन आफुमा जे कुरामा रुचि अनि रहर हुन्छ त्यस विषयमा राम्रो गर्न सकिन्छ !

कृषि पढेका अब्बल विद्यार्थीले कृषिको स्कोप कि त विदेश जाने कुरामा देखेर पढेका छन् कि त लोकसेवा पढेर अफिसर बन्ने अवसर देखेर ! कोहिले त कुनै उदेश्य बिना नै MBBS/ईन्जिनियर जस्ता नाम चलेका बिषयमा नाम ननिस्केको झोकमा पढेका हुन्छन् ! हामि पनि त्यही MBBS मा नाम ननिस्कीएर , बिना कुनै उदेश्य होमिएको थियौ कृषि पढाइमा | सुनेको भरमा कृषिमा भर्ना हुने सयौंको भिडमा हामी नि पर्छौँ!  हामिले सुनेको कृषि पढाइ भन्नाले ;
प्राकटिकल / टुर / सेमिनार आदि इत्यादि थिए!

वाह! कृषिमा भर्ना भएका सुरुवाती दिनहरु ……

नयाँ ठाउँ घुम्ने त्यो उमंगित मन अनि नयाँ कुराहरू सिक्ने उत्साह नै अलग थियो त्यो सेतो पहिरन अनि त्यो स्थेस्थोस्कोप भन्दा परका सपना नबुनिएका यी मस्तिष्कमा पनि अब त प्रकृतिमा तल्लीन हुने अनि हरियालीसँग रमाउने सपना  आउन थालेका थिए !  तर कृषि पढेको १ वर्ष नि नहुदैँ हामी गलत साबित भयौं| फरक पायौं हामीले सुनेको कृषि पढाइ अनि वास्तविक कृषि पढाइमा ! बिहानै उठेर पढ्नि , सबै विषयमा धेरै धेरै नम्बर ल्याएर पास गर्नी , पढाइ सकेको अर्को दिन नै जागिर पाउनी  सपना हामीले बुन्न थाल्दा नथाल्दै हामी वास्तविक धरातल बुझ्न तर्फ लाग्छौ!

आफ्ना अग्रज दादादिदिहरुलाई सोध्न थाल्यौ;
अनि थाहा भयो सोचे जस्तो केही रैन रहेछ अनि बल्ल अघिल्लो वर्ष सुनेको गीत याद आयो अनि लाग्यो त्यसै गायकले गाएको हैन रहेछ ” सोचे झैं जिन्दगी रैन छ!”
स्नातक तहका सम्पुर्ण विषय त भन्न नमिल्ला तर विशेष कृषि पढाइमा बिद्यार्थीलाई यस्तो भान हुन्छ कि देखेका सपना अनि आखाँमा संगालेका रहरहरुले कहिलेकाही आफैंलाई पोल्दो रहेछ; दुखाउदो रहेछ! अझै बढी मन त त्यो बेला दुख्छ जब सुनिन्छ हामीले नपढी गरेको कृषि यिनैले पढ्छ्न् केहिमा नाम निस्केनछ अनि कृषि भए नि पढम न भनेर पढेका छन् !  कृषिका विद्यार्थीले पनि पढ्छन् कहीँ? सबै जानेको नै त हुन्छ नि! अरु देशमा पढ्लान् कृषि अनि  पढाऊलान् कृषि। नेपालमा चाँहि पढ्नै पर्दैन, हुन पनि हो हामी विद्यार्थी नि उस्तै छौँ !जाँचको केही दिन अघिबाहेक कहिल्यै कृषि पढ्न जानेका छैनौं । कोर्स पढाए पो पढ्नु। त्यस माथी कृषि शिक्षालाई प्रयोगात्मक भन्दा सैद्धान्तिक शिक्षामा सिमित राखेको कारणले गर्दा नि रुचि नभएको हो। पढाएनी सबै सैद्धान्तिक शिक्षा मात्रै हुन्छ अनि त्यसमाथि जाँचको अघिल्लो दिन सम्म पढाइ हुन्छ , तयारी कहिले गर्नु ? फेरि अध्यापन गराउने संस्थाले त पास अनि फेलको अनुपात हेर्ने हो नि! पास हुनु ठुलो कुरा हो नि भन्ने मान्यता पो छ त अनि यस्तो सजिलो विषयमा को चाहिँ  पास हुन्न र , हैन र ?
भनाइ नै छ नि ” घोकन्ते विद्या धावन्ते खेती ”
सैद्धान्तिक शिक्षामा त उतिर्ण गर्न घोकेसी गाह्रो हुने कुरै भएन ! +२ मा हुन्जेलसम्म होमवर्क , प्राक्टिकल के के हुन्थे गर्थेउ , तर अहिले यता कृषिमा एकएक सेकेन्ड गनेर वर्ष बित्छ। जाँच आउँदाका दुई महिनाबाहेक पूरै बेकामे बनेर। रित्तो, शून्य र उजाड बनेर। अमूल्य समय उपलब्धिविहीन बनेर , टर्रो, अमिलो र नमिठो अनुभुत गरेर। दुई-चार दिन परिक्षामा पढ्यो त्यति हो।
अहिले त विश्वभर कोभिड महामारीको लहर अनि मरिन्छ कि भन्ने डर त्यसमा भौतिक कक्षा संन्चालन गर्न त असम्भव जत्तिकै छ। अरु पढाइ बरु अनलाइन बाट पढ्दा नि खासै फरक नपर्ला तर प्राविधिक कृषि जस्तो विषय  नि अनलाइन पढ्दा विद्यार्थीले के सिक्छन् भन्ने भान सम्म नहुदाँ दुखीअनि मारमा छौ! अनलाइन पढ्नु पर्ने बाध्यता त छँदैछ अझै परिक्षा पनि अनलाइन नै हुने खबर !

चित्तबुझ्दो नै छैन !
मन पर्ने कुरै छैन
अनलाइन परिक्षाको कारण पनि पढ्न मनै छैन खै के हुन्छ, हुन्छ; जब परिक्षा आउँछ अनि हामिलाई खुब पढाइ बाहिरको कुरामा रुचि हुन्छ! हाम्रो रुचिको विषय साहित्य अनि परिक्षा नजिकिदै गर्दा साहित्यिक हुन मन लाग्ने गर्दछ अझै अहिले त झन् अनलाइन रे परिक्षा पनि अब झन् मन किन मान्थियो पढ्नलाई? त्यसैले होला आज झन् मनभित्र गुम्सिएर रहेका उकुसमुकुसहरु ह्वात्तै बाहिरिन खोज्दैछन्। घोत्लिएर समय काट्छु । घर, कोठा अनी आफ्नो आन्तरिक या बाह्य, दुवै परिवेश, कत्ती पनि जाती लाग्दैनन । कोठा त्यसै-त्यसै फोहोर जस्तो लाग्छ । बाहिर निस्कन्छु; सायद आफु हतारमा हुन्छु होला, अनी सारा संसारनै हतारिएको भान हुन्छ । सडकमा घिस्रिरहेका मानिसहरु हेर्छु, सबैको हालत मेरो भन्दा फरक, बिल्कुल फरक जस्तो लाग्छ । निसासिएको जीवन त मेरो मात्रै होला। त्यो उड्छ, अनन्त आकाश छुन, त्यसको उडाईसँगै म वर्तमान जिन्दगीका उलटपुलट किरणहरु अन्तै परावर्तन गर्ने भरमग्दुर प्रयास गर्छु ।
अब केहि परिश्रम नगरेका मस्तिष्क पनि थाक्छ्न् तर सोच्न छोड्दैन्न “पढाइ अनलाइन परिक्षा अनलाइन;
अब कृषि क्रान्ति पनि अनलाइन बाटै त गर्ने होला नि ” हुन त प्रबिधिले गर्दा विश्व नै साघुरिएको यो परिवेशमा अनलाइन पढाइ अनि अनलाइन परिक्षालाई दोषी मान्न मन लागेन! तर परिक्षाको कुरामा सानै देखि एउटा कुरा मनमा लागि रहन्छ सीमित घण्टा पेपरमा लेखेको आधारमा कुनै पनि व्यक्तिको भविष्य किटान गर्ने परिक्षाको यो कुरा सायदै कोहि विद्यार्थीलाई राम्रो लाग्ला! अहिलेको अवस्थामा के लेखेको भन्नू सारेको भन्दा ठिक होला ! सारेको आधारमा भविस्य किटान ?
स्कोप बढी छ भनेर कृषि पढ्नेहरुको जमातमा सुनेको भरमा कृषि पढ्नेहरुको भबिष्य अन्योलग्रस्त छ । पूर्णतया अनिश्चित । यो सम्झँदा पनि मन भारी भएर आउँछ । हुन त कसको नै पो भबिस्य फिक्स हुन्छ र, सबै पीडित नै त छन् नि, यो दु:खै दु:खले भरिएको गुह्य जिन्दगी बिताउने हामी मात्रै कहाँ हो र ! फेरि एकचोटी दिमागलाई बल दिएर सोच्नै मन लाग्ने भविस्यको बारेमा ! केही पनि नै गर्दैनौ भने के काम लाग्यो त कृषि पढेको? हेर बुद्धि! पढेर के गर्नु केही ढंग नै त छैन। हामी कृषि बिदहरुको भन्ने नै यहि हो ! यत्रो पढेर नि केही गर्न सकेको छैनौ; अझैसम्म केहि सिकेको नै छैन। भन्यौं भने आफैंमा हास्यास्पद हुन्छ तर वास्तविक धरातलमा उक्लिदा यहि हास्यास्पद नै सहि हो! स्कोप देखेर पढ्नेहरुले नि भन्न लागेँ ह्या,कस्तो स्कोप नभाको विषय पढेछौ हामीले? को बस्छ नेपालमा ? न कुनै फ्युचर न कुनै स्कोप ! कस्तो बुद्धि हाम्रो कृषिप्रधान देशमा नभएको कृषिको स्कोप खोज्न विदेश जाने रे!
बस् अब चाहना एउटै छ…

त्यो तोते बोली नफुट्दैमा डाक्टर र इन्जिनियरको पेशा संगै कृषि पेशा पनि जोडियोस् ! कृषिप्रधान देशमा कृषि कृषक अनि कृषि विद्यार्थीको सम्मान होस् | जिन्दगीको कुनै पनि बिन्दुमा नसोचेका घटना, नसोचेको भोगाइ , नसोचेको संघर्स  सामना गर्नुपर्छ भन्ने कुरा कृषि बिषयले स्मरण गराएको छ। यो संघर्षपछि हामिले जिन्दगी कती मूल्यवान् रहेछ भन्ने पनि राम्ररी बुझ्न बाध्य भयौ। योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ भुमरीमा नाच्दै र खहरेमा सलल बग्दै जाने पानी झैँ जिन्दगीका प्रत्येक पाइलामा हामीले अवरोध झेल्दै र निरन्तर बग्दै जानुपर्ने रहेछ भन्ने ज्ञान भयो।

जय किसान !
जय कृषि  !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय