अनुप पौडेल
कृषि विकास अधिकृत, कालीगण्डकी गाँउपालिका स्याङजा
हाम्रो देश नेपाल प्राकृतिक सम्पदाहरुले भरिपूर्ण देश हो, जहाँ हरेक कुना कन्दरामा अमृतरुपि बोटबिरुवा उम्रिएका पाइन्छन् । हाम्रै नजर सामुन्ने हामी दिनहुँ निकै धेरै आर्थिक, संस्कृतिक, धार्मिक तथा आयुर्वेदिक महत्व र सम्भावना बोकेका बोटबिरुवाहरु तथा जडिबुटीहरु देखिरहेका हुन्छौं तर हामी नजरअन्दाज गरिदिन्छौ किनकि यत्रतत्र छरिएर उम्रिएका झारहरुले आर्थिक आर्जन र समृद्धिका सम्भावनाहरु बोकेका छन् भन्ने हामीले कल्पना सम्म गरेका हुदैनौं । तर ती अथक संभावना बोकेका बस्तुहरुको पहिचान , संवद्र्धन र प्रवद्र्धन गर्न सक्ने हो भने प्रकृतिले दिएको बरदानलाइ चिनेर सदुपयोग गर्दै ब्यवसायिक रुप दिन सक्ने हो भने हामीले धेरै क्षेत्रमा लाभ लिन सक्छौं । हामीले दिनहुँ देखेका तर उचित सदुपयोग गर्न नसक्दा यत्तिकै छरियर रहेका कतिपय बोटबिरुवा, जडिबुटी तथा झारपात हरुको व्यवसायिकताबाट नै हामीले आर्थिक समृद्धिको हाम्रो यात्रा तय गर्न सक्छौं । देशभित्र छरिएर रहेका कृषिका अथक सम्भावनाहरुको बीच हामीले धेरै देखेको बुझेको तर व्यवसायिक रुप दिन नसकेको एक महत्वपूर्ण प्राकृतिक बरदान हो तितेपाती ।

तितेपाती १–२ मिटरसम्म अग्लो हुने फूल फुल्ने खालको जडिबुटी हो, जसको प्रयोग परापुर्वकालदेखि नै हुँदै आइरहेको छ । निकै पहिलेदेखि नै तितेपातिका सुख्खा पातहरुलाइ बिँडिको रुपमा वा चियामा हालेर खाने गरिन्थ्यो । सानोमा हाम्रो हात काट्दा तितेपाती माडेर लगाउदा रगत रोकिन्थ्यो, यसबाट अनुमान लगाउन सकिन्छ यसमा कति औषधिय महत्व छ । देवतालाइ फुलपाती चढाउनदेखि लिएर अन्न उत्पादन बढाउनसम्म तितेपाती प्रयोग गर्न सकिन्छ, यसलाइ ब्यवसायिकता तर्फ लैजानु आजको आवश्यकता हो । तितेपातीका विभिन्न प्रजातिहरुमध्ये Artimisia vulgaris र Artimisia indica नेपालमा प्रचलित र राम्रो उत्पादन दिने प्रजाति मानिन्छन् ।
सम्भावना
समुन्द्री सतहबाट ३०० मिटरदेखि २४०० मिटरसम्मको उचाइमा उत्पादन गर्न सकिने तितेपाती देशको सबैजसो भुभागमा अव्यवस्थित झारको रुपमा उम्रिएकोे पाइन्छ। प्रशस्त घाम लाग्ने, हल्का चिस्यान भएको, पानीको निकास भएको ठाउँमा र पानीको स्थायी श्रोत भएको ठाउँनजिकै तितेपातीको राम्रो खेति गर्न सकिन्छ। तितेपातीले हल्का छाया तथा सुख्खापन सहन गर्न सक्छ तर पानी जम्ने , हिलो तथा ढाबमा यसको वृद्धि बिकास र उत्पादन त्यति राम्रो हुँदैन । बहुउपयोगी यो जडिबुटीको नेपालको तराई देखि उच्च– पहाडी भुभागसम्म उत्पादन लिन सकिन्छ । बर्तमान अवस्थालाइ हेर्ने हो भने तितेपातीको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा अत्याधिक माग रहेको छ तर यसको ब्यवसायिक उत्पादन हुन सकिरहेको छैन जसले गर्दा मागअनुसारको आपूर्ति हुन सकिरहेको छैन। हाम्रा जमिनहरु बाझो छाड्ने क्रम बढ्दो छ र अन्नवालि खेति गरिएको ठाउमा पनि बादरको आतंकले गर्दा उत्पादन भित्राउन नसकिएको अवस्था छ । यस्तो अवस्थामा तितेपाती खेतीले हाम्रा बाँझा खेतबारी, पाखाबारी तथा खरबारीहरुको सदुपयोग गर्दै आर्थिक आर्जन गर्न सकिने महत्वपूर्ण सम्भावना बोकेको छ ।
महत्व
तितेपातीले हाम्रो समाजमा आर्थिक, सामाजिक, सास्कृतिक, धार्मिक, पर्यावरणीय, औषधिय , आयुर्वेदिक, औद्योगिक, व्यवसायिक लगायत बृहत क्षेत्रको महत्व बोकेको छ । देशमा अथक सम्भावना र महत्व बोके तापनि यसको उपयोगिता र व्यवसायिक खेती बारे थाहा पाउन नसक्दा हाम्रै आखा अगाडी बह–ुउपयोगी बहुमुल्य जडिबुटीहरु जंगली झाडिको रुपमा यसै सुकेर वा ओइलाएर हराउन बाध्य छन् ।
उपयोगिता
तितेपातीको उपयोगीता बृहत रहेको छ । धार्मिक रुपमा इश्वरलाई फुलपातीको रुपमा हरियो पात चढाउन होस या सामाजिक साँस्कृतिक रुपमा दैवी शक्तिको आरधना गर्न होस, तितेपाती प्रयोग गर्ने गरिन्छ । घरपालुवा जीवजन्तूलाइ भकारोमा सोत्तर बिछ्याउन अनि घाउ चोटपटक लाग्दा उपचार गर्न तितेपाती प्रयोग गरिन्छ । कुचो बनाई गाउँघरमा कसिङ्गर बढार्न अनि घरको बरन्डामा झुन्ड्याएर किराहरु बिकर्षण गरेर वातावरणीय सरसफाई गर्न यसको प्रयोग गरिन्छ । बिभिन्न श्रृङगारका सामाग्रीहरु बनाउन, आयुर्वेदिक औषधिहरु बनाउन, तेलहरु, बास्नादार अत्तर, स्याम्फु, साबुनहरु बनाउन, अक्युपन्चरका सामाग्रीहरु बनाउन तितेपातिको प्रयोग गर्न सकिन्छ । मानव छालामा घामका कारण देखिएका धब्बाहरु हटाउन, चायापोतो हटाउन लोसन बनाई उपयोग गर्न सकिन्छ । विभिन्न चर्मरोगहरू जस्तै लुतो, खटिरा, डन्डीफोर, एलर्जी आदीको उपचारमा पनि तितेपाती प्रभावकारी मानिन्छ । स्वास्थ्यका दृष्टिकोणले हेर्ने हो भने जरालाइ शक्तिवद्र्धक जडिबुटीका रुपमा र अन्य भागहरुलाइ पेट, आन्द्रा तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या जस्तै झाडापखाला, कब्जियत, बान्ता, अपच, भोक नलाग्ने, पेटमा अम्लियपन बढ्ने आदी समस्या समाधान गर्नका लागि सेवन गर्ने गरिएको पाइन्छ । मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याहरु जस्तै थकान, उदासिनता , बेचैनि , चिन्ता तथा निद्रा सम्बन्धि समस्याहरु समाधान गर्न अनि महिलाहरुमा हुने महिनावारी सङ सम्बन्धित समस्याहरु नियन्त्रणमा समेत यसका उत्पादनहरु उपयोगी मानिन्छन् । तर गर्भवती महिलाहरुले यसको सेवन गर्दा भने गर्भपतन हुने खतरा रहन्छ त्यसैले गर्भवती महिलाहरुले यसको सेवन गर्नुहुँदैन ।
कृषि क्षेत्रमा हेर्ने हो भने तितेपातीकोे निकै महत्वपुर्ण उपयोगिता रहेको छ । फुल फुल्नु अघिको अवस्थाको १ किलो तितेपातीलाई थिचेर १० लिटर पानीमा घोलेर २४ घण्टासम्म भिजाँउदा बनेको घोललाई छानेर तरकारी तथा फलफुलका बोटमा छर्ने हो भने सबैजसो किराहरु नियन्त्रण गर्न सकिन्छ । तितेपातीकोे पातमा ४ प्रतिशत नाइट्रोजन हँुने हुँदा खेतबारीमा प्राङगारीक मलको रुपमा यसको प्रयोग बढ्दो छ । यसका हाँगा तथा पातहरुलाई विभिन्न तरकारी तथा मसलाबालीहरुमा छापो राख्न तथा अन्य बनस्पतिका कलिला हाँगा तथा पातहरु सँग मिसाएर झोलमोल बनाउन पनि प्रयोग गर्न सकिन्छ। पातको धुलो अन्न भण्डारण तथा अनाजमा प्रयोग गर्दा ९ महिनासम्म अनाज सुरक्षित राख्न सकिन्छ ।

बिश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट बच्न स्यानिटाइजरको अत्याधिक प्रयोग भैरहेको अवस्थामा नेपालकै कतिपय ठाउँहरुमा तितेपातीकोे स्यानिटाइजर बनाएर उपयोग गरिएको छ । औधोगिक क्षेत्रमा हेर्ने हो भने तितेपातीबाट बिभिन्न तेलहरु, कस्मेटिक सामाग्रीहरु तथा अक्युपन्चर उपचार सम्बन्धि सामाग्रीहरुको उत्पादन गर्न सकिन्छ। ब्यापारिक क्षेत्रतर्फ हेर्दा आर्थिक आर्जनका लागि तितेपातीका बेर्नाहरु उत्पादन गरि बिक्रीवितरण गर्न तथा पात तथा हाँगाहरु सुकाई बजारीकरण गर्न सकिन्छ ।
व्यवसायिक तितेपाती खेती गर्ने तरिका
तितेपातीमा लाखौंको सङख्यामा बिऊहरु लागेर हावामा उडेर स्वतस्फूर्त रुपमा बेर्ना उम्रने भए तापनि ब्यवसायिक रुपमा लगाउदा जरा विभाजन गरेर वा हाँगा काटेर लगाउनु राम्रो मानिन्छ । तितेपातीमा तीब्र रुपमा सबैतिर फैलिएको करिब २० से.मि. लम्बाइको जरा हुन्छ । जराबाट बिस्तार गर्न २–३ सेमि लम्बाईमा कम्तीमा २ ओटासम्म टुसा पर्ने गरी जरा विभाजन गरिन्छ र जरालाइ रोपेर माथिबाट माटोले हलुकासँग पुरिन्छ । हाँगाबाट बिस्तार गर्नका लागि ५–६ इन्च लामो दह्रो डाठ काटेर २–३ इन्च जति जमिन भित्र पर्ने गरि रोपिन्छ । यसका लागि जमिनलाइ राम्रोसँग खनजोत गरी प्रशस्त प्राङगारिक मल राखिसके पश्चात १२–१५ इन्चको फरकमा हागाका टुक्रा तथा जराका टुक्राहरु रोपिन्छ र आवश्यकता अनुसार सिँचाई तथा गोडमेल गर्न सकिन्छ । यसरी रोपिएका तितेपातीहरुको २ देखि ३ महिना भित्रमा उत्पादन लिन सकिन्छ र एकपटक पातहरु टिपिसकेपछि १५–२० दिनमा पुनः पातहरु टिप्न सकिन्छ । व्यवसायिक रुपमा खेती गर्दा प्रतिरोपनि प्रतिवर्ष १० टनसम्म हरियो तितेपाती उत्पादन गर्न सकिन्छ । सिँचाइको व्यवस्थापन र खनजोत गर्न सकेमा बर्षभरि सबैजसो महिनामा तितेपाती लगाउन सकिन्छ । यसरी लिइएका उत्पादन विभिन्न कामहरुमा घरमा नै सदुपयोग गर्न सकिन्छ । व्यवसायिक उत्पादन गरिएको अवस्थामा सुकाएर वा धुलो बनाएर बजारमा तथा विभिन्न उधोगहरुमा बिक्री वितरण गर्न सकिन्छ ।
हाम्रो देश जहाँ करिब दुइतिहाई जनशक्ति कृषिमा आधारित हुँदा समेत हाम्रो उत्पादनले एकतिहाइ जनशक्तिलाइ पनि बर्षभरि खान नपुग्ने अवस्था छ, यहाँ यत्रतत्र छरिएर रहेका औषधीय गुणयुक्त जडिबुटीहरुलाइ व्यवसायिक रुप प्रदान गर्न सक्ने हो भने फालिएका बोटहरु पैसा फल्ने बोटका रुपमा स्थापित हुन सक्छन् । हाम्रा उत्पादनहरु अन्तराष्ट्रिय बजारमा ब्राण्ड बन्न सक्छन् अनि हामी आर्थिक समृद्धिको क्षेत्रमा अघि बढ्न सक्छौं ।
लेखक पौडेल कालीगण्डकी गाँउपालिका स्याङ्जामा कृषि विकास अधिकृतको रुपमा समेत कार्यरत रहेका छन्, उनले विभिन्न कृषि अन्तर्गतका विभिन्न क्षेत्रहरुमा भएका सम्भावनाका आयामहरुलाई आफ्ना लेख मार्फत प्रकाशन समेत गर्ने गरेका छन् ।









