चर्चित

काठमाडौँ, २२ साउन । भारतले गत जुलाई २० मा चामल निकासीसम्बन्धी महत्त्वपूर्ण निर्णय गरेर गैर-बासमती सेतो चामलको निर्यातमा तत्काललाई प्रभावकारी प्रतिबन्ध लगाइदिएको छ ।

आन्तरिक बजारमा चामलको बढ्दो माग र चाडपर्वको मौसममा खुद्रा मूल्यलाई नियन्त्रण गर्न यो निर्णय गरिएको भारत सरकारको तर्क छ ।

विश्वभरको भूराजनीतिक परिदृष्य, एल निनो र धान उत्पादक देशमा बदलिँदो मौसमका कारण यस चामलको निर्यातमा यो तीव्र वृद्धि भएको थियो । तर, भारतले बासमती चामल र पिरोलेको चामलको निर्यातमा कुनै प्रतिबन्ध लगाएको छैन ।

भारत विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देश हो । यस निर्णयपछि भारतले निर्यात गर्ने चामलको मात्रा घटेर झण्डै आधा हुने छ । भारतको यस निर्णयका कारण विश्वभर खाद्यान्न बजारमा चामलको मूल्य बढ्ने सम्भावना छ ।

भारतीय गैर-बासमती चामलको प्रमुख खरिदकर्तामा अफ्रिकी देश बेनिन, बंगलादेश, अंगोला, क्यामरुन, जिबूती, पपुवा न्युगिनी, आइभोरी कोस्ट, केन्या र नेपाल रहेका छन् । इरान, इराक र साउदी अरबले मुख्यतया भारतबाट प्रिमियम बासमती चामल किन्छन् ।

यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । भारतले चामलको निर्यात रोक्दै छ भन्नासाथ नेपालमा व्यापारीहरूले भाउ बढाइदिएका छन् । १५ दिनअघि स्टिम जिरामसिनो चामल प्रतिबोराको १ हजार ९ सय रुपैयाँ पर्थ्यो । अहिले २ हजार २ सय पुगिसकेको छ ।

नेपालको वार्षिक सरदर धान उत्पादन ५५ लाख मेट्रिक टन जति रहेको छ । त्यसमा ६/७ लाख मेट्रिक टन बाहिरबाट ल्याइने गर्छ । कृषि विभागकी उपमहानिर्देशक एवं प्रवक्ता जानुका पण्डितका अनुसार नेपालमै उत्पादन हुने मोटो धानका चामल नखाने र मसिनो अनि बास्नादार खोज्ने चलनले गर्दा पनि आयात धेरै भएको देखिन्छ ।

व्यापारीले स्टक चामलको मूल्य बढाउन सुरु गरेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनसँगै नबढाउन निर्देशन पनि दिएको छ ।

भारतमा चामलको खुद्रा मूल्य एक वर्षमा ११.५ प्रतिशतले बढेको छ । गत महिना मात्रै यो दर ३ प्रतिशतले बढेको थियो । थाइल्याण्ड र भियतनामले आफ्नो चामल निर्यातको मूल्य १० प्रतिशतले बढाएका छन् । यसले विश्वव्यापी खाद्य मूल्यमा असर पार्नेछ । भारतको मुख्य प्रतिस्पर्धा थाइल्याण्ड र भियतनामसँग छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतले गैर-बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएकाले विश्वव्यापी खाद्य मुद्रास्फीतिमा असर पर्ने जनाएको छ । पछिल्लो समय भियतनामबाट निर्यात हुने चामलको मूल्य दशककै उच्च विन्दुमा पुगेको छ । भारत र थाइल्याण्डपछि भियतनाम विश्वको तेस्रो ठूलो चामल निर्यातकर्ता हो ।

भारतले विश्वका १ सय ६५ देशमा चामल निर्यात गर्छ । विश्व व्यापारमा भारतको ४२ प्रतिशत बजार हिस्सा छ । सामान्यतया थाइल्याण्ड र भियतनामबाट चामल किन्ने चीन र फिलिपिन्सले अब उच्च मूल्यमा चामल किन्नुपर्नेछ ।

पञ्जाब र हरियाणाका साथै धेरै राज्यहरूमा बालीमा क्षति पुगेको थियो । जसका कारण धेरै किसानहरूले पुन: रोपाइँ गर्नुपरेको थियो । उत्तरी भारतका धेरै ठाउँहरूमा धान खेतहरू एक हप्ताभन्दा बढी समयसम्म जलमग्न रह्यो र रोपिएको बाली नष्ट भयो।

भारतीय चामल जहाँ जान्छ, त्यहाँ मूल्य बढ्न सक्छ, र यसले भियतनाम, पाकिस्तान, थाइल्याण्ड जस्ता देशहरूलाई फाइदा पुर्‍याउँछ, किनभने तिनीहरूको चामल महँगोमा बिक्री हुनेछ ।

विश्व व्यापारले ४५ मिलियन टन चामल निकासी गर्छ, जसमा भारतको हिस्सा २ करोड २० लाख टन छ । यसमा बासमती र गैर-बासमती दुवै चामल पर्दछन् । भारत सरकारको यस निर्णयपछि अमेरिकामा भारतीय किराना पसलमा भारतीय मूलका मानिसहरुको लामो लाइन देखिएको थियो ।

इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार अमेरिकामा बसोबास गर्ने भारतीय मूलका मानिसहरुले बजारमा चामल अभाव हुने डरले बजारबाट बढी चामल किन्ने गरेका छन् । यस प्रतिबन्धले विशेष गरी उत्तर अमेरिका, युरोप र पश्चिम एसियाका तेलुगु समुदायका मानिसहरूमा चिन्ताको वातावरण सिर्जना गरेको छ ।

अंग्रेजी अखबार द हिन्दूका अनुसार टेक्सास, मिशिगन र न्यु जर्सी जस्ता प्रमुख अमेरिकी शहरहरूमा, पसलहरूले पनि चामल किन्न धेरै भारतीय किराना पसलहरू बाहिर लाइन देखेपछि बिक्री सीमित गरेका छन् । धेरै पसलमा ग्राहकले एक थैली चामल मात्र किन्न पाउने नियम बनाइएको छ ।

विश्वभर खाद्य सुरक्षालाई लिएर संकटको अवस्था छ र भारतले लगाएको यस प्रतिबन्धले विश्वमा संकट थप गहिरो बनाउन सक्छ ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार विश्व चामल निर्यातमा भारतको हिस्सा ४२ प्रतिशत छ । यो सन् २०२२ मा ५५.४ मिलियन टन थियो । भारतको चामल निर्यात २०२२ मा रेकर्ड २२.२ मिलियन टन पुग्ने तय गरिएको थियो, जुन विश्वका चार ठूला चामल निर्यातकर्ताहरू – थाइल्याण्ड, भियतनाम, पाकिस्तान र अमेरिकाको संयुक्त निर्यातभन्दा बढी हो ।

भारतले २०२२ मा १७.८६ मिलियन टन गैर-बासमती चामल निर्यात गरेको थियो । जसमा १०.३ मिलियन टन गैर-बासमती सेतो चामल समावेश छ ।

पश्चिम बंगाल, उत्तर प्रदेश, आन्ध्र प्रदेश, पञ्जाब, ओडिशा र छत्तीसगढ भारतका प्रमुख धान उत्पादक राज्यहरू हुन् । भारतको उत्तरी भागमा पछिल्ला केही सातादेखि भारी वर्षा भइरहेको छ । जसका कारण पञ्जाब र हरियाणाका साथै धेरै राज्यहरूमा बालीमा क्षति पुगेको थियो । जसका कारण धेरै किसानहरूले पुन: रोपाइँ गर्नुपरेको थियो । उत्तरी भारतका धेरै ठाउँहरूमा धान खेतहरू एक हप्ताभन्दा बढी समयसम्म जलमग्न रह्यो र रोपिएको बाली नष्ट भयो।

किसानहरूले फेरि रोप्नका लागि खेतबाट पानी कम हुनका लागि कुर्नुपरेको थियो । धेरै प्रमुख धान उत्पादक राज्यहरूमा, पर्याप्त वर्षा नभएकाले किसानहरूले धान छर्न सकेनन् ।

भारतले धानको खरिद मूल्य बढाएपछि धानको खेती बढ्ने अपेक्षा गरिएको थियो तर २०२२ को तुलनामा हालसम्म ६ प्रतिशत कम क्षेत्रफलमा कृषकले धान रोपाइँ गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय