सम्पादकिय
देशमा सम्भावना नदेखेर वा विविध कारणले गर्दा क्षमतावान युवाहरु युरोप र अमेरीका पलायन भएका छन् भने ज्ञान र सीप नभएका मध्यम वर्गिय युवाहरु खाडी देशमा गई आफ्नो श्रम अत्यन्तै सस्तो मुल्यमा खर्च गरिरहेका छन्, यो हाम्रो अहिलेको बाध्यता वा यथार्थ बन्दैछ । देशमा उद्योग धन्दाको विकास गरी युवालाई उद्यमी बनाउने गरी ठोस कार्यक्रम बन्न नसक्नु, बनेका कार्यक्रम प्रभावकारी नहुनु जस्ता थुप्रै समस्याका कारण आज युवाहरुको सहभागीता कृषि क्षेत्रमा साह्रै न्युन हुन सक्छ सायद । बेरोजगार एवं अनुत्पादक भएर बसेका युवालाई अब आय–आर्जनमूलक व्यवसाय गर्न र उधमी बन्न नविनतम व्यवसायको तयारी गर्ने, उत्पादनशिल व्यवसायको स्थापना गर्ने, त्यसको अनुसन्धान गर्ने लगायतका गतिबिधि बढाँउनुपर्ने देखिन्छ ।
तिव्र इच्छा शक्ती, सृजनशीलता र उधम गर्न सक्ने क्षमता भएका उद्यमीहरुको पहिचान गरी उनीहरुलाई यसलाई सुँहाउने खालका गतिविधी संचालन गर्नुपर्छ । युवा उद्यमशिलता विकासले आफ्नो पेशा, व्यवसाय प्रति आकर्षित गराई जोखीम बहन गर्ने र सृजनशील कार्यलाई आर्थिक क्रियाकलापसँग आवद्घ गर्न मद्धत गर्दछ, त्यसैले स्थानिय स्तर दैखि नै कृषिमा उत्पादन र उत्पादकत्व वृद्घि तथा रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई गतिशिलता दिन कृषिमा युवा उद्यमशिलता विकास महत्वपुर्ण छ । यसको लागि युवाले आज ठ्याक्कै के खोजिरहेका छन् ? भन्ने विषयको स्पष्ट यकिन गरी निती बनाएर सोही अनुसार कार्य गर्नुपर्छ ।
कृषि क्षेत्रलाई आधुनिकिकरण गरि जिविकोपार्जनको रुपमा मात्र होइन कि अव व्यवसायीकरण गरी नाफा कमाउने व्यवसायमा परिणत गर्न जरुरी देखिन्छ, त्यसैले कृषि क्षेत्रमा उद्यमशिल युवाहरुको संलग्नता आवश्यक छ । कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण किन बढेको छैन भन्ने कुराको यथार्थ पहिचान गरी जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्यएर उत्पादकत्व बढाउदैँ, आत्मनिर्भर बनी निर्यातको लागि बाटोलाई पछ्याई साँच्चि नै समृद्धको संवाहकको रुपमा अगाडी बढाँउनुपर्ने देखिन्छ ।









