चर्चित

त्रिलोचन भट्टराई
निर्देशक, एग्रो टाइम्स मिडिया नेटवर्क

नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्र यतिबेला एउटा गम्भीर र ऐतिहासिक मोडमा उभिएको छ । एकातिर हामीसँग अपार प्राकृतिक स्रोत, जैविक विविधता र विभिन्न जलवायु क्षेत्रहरू छन् भने अर्कोतिर परम्परागत खेती प्रणाली, श्रमशक्तिको अभाव र बढ्दो आयातको डरलाग्दो चित्र छ । २१औँ शताब्दीको यो तेस्रो दशकमा आइपुग्दा पनि यदि हामीले कोदालो र हलो को भरमा मात्रै समृद्धिको सपना देखिरह्यौँ भने त्यो केवल कल्पना मात्र हुनेछ । आजको विश्वमा कृषि केवल जीवन धान्ने माध्यम मात्र रहेन, यो एउटा उच्च प्रविधियुक्त उद्योग नै बनिसकेको छ । यसै सन्दर्भमा, नेपालको सन्दर्भमा कृषि प्रविधि र यान्त्रीकरणको हालको अवस्था, यसको महत्त्व र अबको अपरिहार्यताबारे विमर्श गर्नु आवश्यक छ ।

नेपालमा कृषि प्रविधि र यान्त्रीकरणको वर्तमान अवस्था
नेपालमा कृषि यान्त्रीकरणको इतिहास धेरै पुरानो छैन । वि.सं. २०२६ तिरबाट ट्रयाक्टरको प्रयोग सुरु भए पनि यसले गति लिएको पछिल्लो दुई दशकमा मात्र हो । हालको अवस्थालाई हेर्दा नेपालको कृषिमा यान्त्रीकरणको प्रयोग मिश्रित र भौगोलिक रूपमा असन्तुलित छ ।

तराई क्षेत्र : तराईमा ट्रयाक्टर, पावर टिलर, कम्बाइन हार्भेस्टर र थ्रेसरको प्रयोग उल्लेख्य रूपमा बढेको छ । यहाँ करिब ६० देखि ७० प्रतिशत जोताइ र दाइँका कामहरू मेसिनबाट हुन थालेका छन् ।

पहाडी र हिमाली क्षेत्र : भूगोलको जटिलताका कारण यी क्षेत्रमा ठूला मेसिन पुग्न सकेका छैनन् । यद्यपि, साना मेसिनहरूको माग र प्रयोग तीव्र गतिमा बढिरहेको छ । पहाडमा सिँचाइका लागि लिफ्ट प्रविधि र प्लास्टिक घर (न्चभभलजयगकभ) भित्रको प्रविधि विस्तार हुँदैछ ।

डिजिटल प्रविधिः पछिल्लो समय मोबाइल एप्स, सूचना प्रविधि र केही हदसम्म ड्रोनको प्रयोगका कुराहरू सुरु भएका छन् । तर, यो अझै पनि परीक्षण र सीमित घेराभित्रै छ ।
सरकारी प्रयास : सरकारले कृषि यान्त्रीकरण प्रवद्र्धन नीति (२०७१) कार्यान्वयनमा ल्याएको छ । विभिन्न अनुदान कार्यक्रमहरू मार्फत मेसिनरी वितरण भइरहेका छन् । तर, मेसिन किन्ने अनुदानले मात्र पुग्दैन, त्यसको सञ्चालन, मर्मत र दिगोपनमा ठूलो खाडल छ ।

कृषि यान्त्रीकरणको महत्त्वः किन आवश्यक छ मेसिन ?
कृषिमा यान्त्रीकरण केवल सोखको विषय होइन, यो आवश्यकता हो । यसका केही प्रमुख महत्वहरुलाई यस लेखमा राख्ने प्रयास गरेको छु ।
नेपालको वर्तमान सन्दर्भमा कृषि यान्त्रीकरण केवल आधुनिकताको परिचायक मात्र नभई यो एक अनिवार्य आवश्यकता बनेको छ। अहिले गाउँघरका अधिकांश युवा जनशक्ति रोजगारीको सिलसिलामा वैदेशिक मुलुकमा पलायन भइरहेका छन्, जसका कारण ग्रामीण क्षेत्रमा खेती गर्ने श्रमिकको चरम अभाव देखिएको छ । यस्तो जटिल अवस्थामा आधुनिक मेसिनको प्रयोगले मानिसले गर्ने श्रमसाध्य कार्यलाई छिटो, छरितो र सस्तो मात्र बनाउँदैन, बरु समयको समेत ठूलो बचत गरिदिन्छ । उदाहरणका लागि, एक हल गोरुले दिनभर लगाएर गर्ने जोताइको कामलाई ट्रयाक्टरले एक घण्टाभित्रै पूर्ण गुणस्तरका साथ सम्पन्न गर्न सक्छ। यसले उत्पादन लागत घटाउन र कृषिलाई व्यावसायिक बनाउन ठूलो मद्दत पु¥याउँछ ।
यान्त्रीकरणले श्रमको बचत मात्र गर्दैन, यसले बालीको उत्पादकत्व वृद्धिमा समेत प्रत्यक्ष योगदान पुर्याउँछ । आधुनिक मेसिनरीद्वारा जमिनलाई वैज्ञानिक ढङ्गले गहिरो गरी खनजोत गर्दा र बीउलाई उचित गहिराइ एवं दूरीमा रोप्दा उत्पादनमा १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन् । मौसमको अनिश्चितताका बीच समयमै रोपाइँ सम्पन्न गर्न र तयार भएको फसललाई सही समयमा काट्न मेसिनको प्रयोगले महत्त्वपूर्ण भूमिका खेल्दछ । यति मात्र नभई, कृषि कार्य आफैँमा अत्यन्तै श्रमसाध्य र कष्टकर हुने गर्दछ, जसको बोझ विशेष गरी महिला कृषकहरूमा बढी पर्ने गरेको छ । प्रविधिको प्रयोगले शारीरिक कष्ट र कार्यबोझलाई उल्लेख्य रूपमा न्यून गर्दै कृषिलाई दुःखको पेसा भन्ने पुरानो पहिचानबाट मुक्त गरी एक ’सम्मानजनक र आधुनिक पेसा’ का रूपमा स्थापित गर्न सहयोग पुर्याउँछ ।
मेसिनको प्रयोग उत्पादित फसललाई सुरक्षित रूपमा भण्डारणसम्म पु¥याउनका लागि समेत अपरिहार्य छ । परम्परागत ढङ्गले धान वा गहुँ झार्दा र प्रशोधन गर्दा धेरै मात्रामा खाद्यान्न खेर जाने जोखिम रहन्छ । तर, आधुनिक थ्रेसर वा कम्बाइन हार्भेस्टर जस्ता उपकरणहरूको प्रयोगले बर्खा, असिना वा अन्य आकस्मिक प्राकृतिक प्रकोपबाट जोगाउँदै फसललाई निकै कम समयमा सुरक्षित रूपमा भण्डारणसम्म पु¥याउन मद्दत गर्दछ । यसरी फसलपछिको नोक्सानी न्यूनीकरण गर्दै खाद्य सुरक्षा सुनिश्चित गर्न र किसानको वास्तविक आम्दानी बढाउन कृषि प्रविधि र यान्त्रीकरण आजको सन्दर्भमा अपरिहार्य सावित भएको छ ।

कृषि प्रविधिको व्यापकताः मेसिनभन्दा माथि
जब हामी प्रविधिको कुरा गर्छौँ, यसमा ट्रयाक्टर मात्र पर्दैन । यसमा बीउदेखि बजारसम्मका सबै पक्षहरू समेटिन्छन् यसलाइृ समेत संक्षिप्तमा चर्चा गर्ने प्रयास गरेको छु ।
आधुनिक कृषि प्रणालीमा सिँचाइको व्यवस्थापन अब परम्परागत कुलो र नहरमा मात्र सीमित रहेन, बरु यो स्मार्ट सिँचाइको युगमा प्रवेश गरिसकेको छ । थोपा सिँचाइ र स्प्रिङकलर जस्ता उन्नत प्रविधिले पानीको थोपा–थोपा सदुपयोग गर्दै थोरै पानीको उपलब्धतामा पनि धेरै उत्पादन लिन सम्भव तुल्याएको छ। यो प्रविधिले एकातिर पानीको अपव्ययलाई रोक्छ भने अर्कोतिर बिरुवालाई आवश्यक पर्ने ठ्याक्कै मात्रामा पानी र पोषक तत्व सिधै जरासम्म पु¥याउँछ । विशेष गरी नेपालका सुक्खा र पानीको अभाव भएका क्षेत्रहरूमा यस्ता प्रविधिहरू वरदान सावित भएका छन्, जसले सिँचाइमा लाग्ने श्रम र लागतलाई घटाउँदै कृषिको उत्पादकत्वमा गुणात्मक सुधार ल्याएका छन् ।
प्रविधिको अर्को महत्त्वपूर्ण र शक्तिशाली आयाम जैविक प्रविधि हो, जसले कृषि क्षेत्रलाई सङ्कटको समयमा ठूलो सहारा दिएको छ । अहिलेको बदलिँदो जलवायु र नयाँ–नयाँ रोगका कीराहरूको प्रकोपविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता भएका बीउबिजन र जलवायु अनुकूल जातका बालीहरूको विकास हुनु प्रविधिको ठूलो देन हो । प्रतिकूल मौसम, खडेरी वा अत्यधिक वर्षामा पनि सहन सक्ने क्षमता भएका उन्नत जातका बीउहरूको प्रयोगले गर्दा एकातिर किसानको लगानी सुरक्षित भएको छ भने अर्कोतिर खाद्य सुरक्षाको सुनिश्चितता समेत भएको छ । यसले बालीनालीमा प्रयोग गरिने हानिकारक रासायनिक विषादीको प्रयोगलाई कम गर्दै स्वस्थ र गुणस्तरीय उत्पादनमा समेत मद्दत पुर्याएको छ ।
यसैगरी, आजको युगमा डिजिटल एग्रिकल्चर कृषिको अभिन्न अङ्ग बनिसकेको छ, जसले सूचना र सञ्चारको माध्यमबाट खेतीपातीलाई थप वैज्ञानिक र भरपर्दो बनाएको छ । माटोको स्वास्थ्य र पोषक तत्वको अवस्था तत्कालै पत्ता लगाउने डिजिटल सेन्सरहरू, मौसमको सटीक पूर्वानुमान दिने प्रविधि र बजारको ताजा मूल्य घरैमा बसेर मोबाइल एपमार्फत थाहा पाउने सुविधाहरू आजका किसानका लागि अनिवार्य औजार हुन् । यस्ता प्रविधिले किसानलाई कुन समयमा कुन बाली लगाउने, कहिले गोडमेल गर्ने र कुन बजारमा आफ्नो उत्पादन बिक्री गर्ने भन्ने सही निर्णय लिन सक्षम बनाउँछन् । डिजिटल प्रविधिको यो पहुँचले बिचौलियाको प्रभावलाई कम गर्दै किसानलाई सिधै बजार र उपभोक्तासँग जोड्न पुलको काम गरेको छ, जसले गर्दा कृषिलाई एक व्यावसायिक र नाफामूलक उद्यमका रूपमा रूपान्तरण गर्न ठूलो ऊर्जा प्रदान गरेको छ ।

कृषि यान्त्रीकरणको अपरिहार्यता : अबको बाटो
नेपालले अब कृषिलाई केवल निर्वाहमुखी र आत्मनिर्भर बनाउने सोचबाट माथि उठेर व्यावसायिक र निर्यातमुखी’ बनाउनै पर्छ । यसका लागि प्रविधि र यान्त्रीकरणको अवलम्बन गर्नु अब कुनै छनोटको विषय नभएर एक अपरिहार्य आवश्यकता भइसकेको छ । विशेष गरी आजको शिक्षित युवा पुस्तालाई कृषिमा आकर्षित गर्न हिलो र गोबरको परम्परागत शैली मात्र पर्याप्त छैन् । उनीहरूलाई मेसिन, ड्रोन र सफ्टवेयर जस्ता आधुनिक प्रविधि चाहिन्छ, जसले कृषिलाई सम्मानित व्यवसायका रूपमा स्थापित गर्न सकोस्। । जब कृषिमा प्रविधिको प्रवेश हुन्छ, तब मात्र युवाहरू यसलाई आफ्नो पेसाका रूपमा अपनाउन तयार हुनेछन ।
आर्थिक दृष्टिकोणबाट हेर्दा, छिमेकी मुलुकहरू भारत र चीनमा भएको उच्च स्तरको यान्त्रीकरणले गर्दा उनीहरूको उत्पादन लागत निकै सस्तो छ । यदि हामीले आधुनिक मेसिनको प्रयोग गरेनौँ भने हाम्रा उत्पादनहरू बजारमा महँगो हुनेछन्, जसले गर्दा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न असम्भव हुनेछ । अतः खाद्य सम्प्रभुता जोगाउन र सस्तो उत्पादन सुनिश्चित गर्न यान्त्रीकरण अनिवार्य छ । साथै, अनियमित वर्षा, खडेरी र नयाँ–नयाँ रोगका कीराहरू विरुद्ध लड्न आधुनिक प्रविधि र संरक्षित खेती विना कृषि अब भाग्यको भरोसामा मात्र चल्ने जुवा जस्तो हुनेछ, जसलाई प्रविधिले मात्र ठोस आधार दिन सक्छ ।
नेपालको जमिन साना–साना टुक्रामा विभाजित हुनु यान्त्रीकरणका लागि एउटा ठूलो चुनौती हो । अब साना मेसिनमा मात्र अल्झिएर हुँदैन, ठूला मेसिन चलाउन भूमिको चक्लाबन्दी र सामूहिक खेती मोडलमा जानुको विकल्प छैन । यसले मेसिनको क्षमतालाई पूर्ण रूपमा उपयोग गरी प्रति एकाइ उत्पादन लागत घटाउन मद्दत पुर्याउँछ । यद्यपि, यो सम्भावनाका बीच जमिनको खण्डीकरण, मर्मत सम्भारका लागि गाउँमा मिस्त्री र पार्टपुर्जाको अभाव, दक्ष प्राविधिक जनशक्तिको कमी र बढ्दो इन्धनको मूल्य एवं विद्युतीय पूर्वाधारको न्यूनता जस्ता गम्भीर चुनौतीहरू बाधकका रूपमा रहेका छन् । यी समस्याहरूको समाधान गरेर मात्र नेपालको कृषिमा वास्तविक रूपान्तरण सम्भव छ ।

कृषि शिक्षामा पनि प्रविधिलाई अनिवार्य
सरकारले अब मेसिन खरिदमा दिने व्यक्तिगत अनुदानभन्दा ’कस्टम हायरिङ सेन्टर’ (मेसिन भाडामा दिने केन्द्र) हरूको विकासमा लगानी गर्नुपर्छ । सहकारी र निजी क्षेत्रलाई वर्कसप र मेसिनरी तालिम केन्द्र खोल्न प्रोत्साहित गर्नुपर्छ । हामीले कृषि शिक्षामा पनि प्रविधिलाई अनिवार्य बनाउनुपर्छ । कृषि यान्त्रीकरण नेपालको ग्रामीण गरिबी निवारण र आर्थिक समृद्धिको ढोका खोल्ने चाबी हो । परम्परागत सीपलाई आधुनिक प्रविधिसँग फ्युजन गर्दै अघि बढ्नु नै आजको आवश्यकता हो । अबको किसानले हातमा हलो मात्र होइन, प्रविधिको रिमोट पनि समात्न सक्ने वातावरण बन्नुपर्छ । यदि हामीले आज प्रविधिमा लगानी गरेनौँ भने भोलि हाम्रो भान्सा पूर्ण रूपमा परनिर्भर हुने निश्चित छ । त्यसैले, प्रविधि र यान्त्रीकरण आजको छनोट होइन, यो हाम्रो अस्तित्व र समृद्धिको अनिवार्य सर्त हो ।
कृषिमा प्रविधि, समृद्धिको आधार !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय