चर्चित

शर्मिला विडारी आचार्य
MSc. (Ag) Agronomy

 मानव सभ्यताको विकासमा गहुँ

गहुँ केवल एउटा बाली मात्र होइन, यो त हजारौँ वर्षदेखि मानव सभ्यताको विकासक्रममा एक प्रमुख आधारस्तम्भ रहिआएको छ। परम्परागत रूपमा युरोप र उत्तर अमेरिकामा बढी उपभोग गरिने गहुँ पछिल्ला दशकहरूमा विश्वभरि नै एक अनिवार्य र आधारभूत खाद्यान्न (Staple Food) का रूपमा स्थापित भएको छ।
यसको लोकप्रियता बढ्नुको मुख्य कारण तीव्र शहरीकरण र आधुनिक जीवनशैलीमा आएको परिवर्तन हो। मानिसहरूको व्यस्त दैनिकीसँगै परम्परागत खानपानको शैलीमा व्यापक फेरबदल आएको छ।

गहुँको बढ्दो माग

फलस्वरूप; पाउरोटी, चाउचाउ, पास्ता र अन्य बेक्ड (Baked) उत्पादनहरूको माग उच्च हुँदै गएको छ। यी खाद्य सामग्रीहरू तयार गर्न छिटो, भण्डारण गर्न सहज र ढुवानीमा समेत सजिलो हुने भएकाले आधुनिक शहरी जीवनका लागि गहुँ निकै उपयुक्त साबित भएको छ।

उच्च अनुकूलन क्षमता

जलवायु परिवर्तनको जोखिमका बीच पनि गहुँको अनुकूलन क्षमता (Resilience) उल्लेखनीय देखिएको छ। वैज्ञानिकहरूले सुक्खा, अत्यधिक गर्मी र अनियमित वर्षाजस्ता प्रतिकूल मौसममा पनि राम्रो उत्पादन दिन सक्ने उन्नत जातका गहुँको विकास गरेका छन्। अन्य बालीहरूको तुलनामा गहुँले बदलिँदो वातावरणमा देखाएको उच्च अनुकूलन क्षमताले गर्दा नै विश्वव्यापी उत्पादनमा स्थिरता कायम हुन सकेको हो।

खाद्य सुरक्षाको एक भरपर्दो आधार

विश्वव्यापी आर्थिक स्थिरतामा पनि गहुँको महत्त्वपूर्ण योगदान छ। विभिन्न देशहरूबीचको द्वन्द्व र आपूर्ति शृङ्खला (Supply Chain) मा देखिएका चुनौतीहरूका बाबजुद गहुँको उत्पादन सुदृढ रहेको छ। हालैका वर्षहरूमा देखिएको कीर्तिमान उत्पादनले यसलाई विश्वव्यापी खाद्य सुरक्षाको एक भरपर्दो आधार बनाएको छ।

बहुआयामिक दृष्टिकोणको आवश्यकता

गहुँको बढ्दो उपभोगसँगै पोषणका चुनौतीहरू पनि थपिएका छन्। सग्लो दाना (Whole Grain) को सट्टा अत्यधिक प्रशोधित गहुँजन्य पदार्थको प्रयोगले शरीरमा आवश्यक पोषक तत्वको कमी हुन सक्छ। यस समस्यालाई सम्बोधन गर्न अनुसन्धानकर्ताहरूले ‘बायो-फोर्टिफिकेसन’ (Bio-fortification) मार्फत फलाम (Iron), जस्ता (Zinc) र प्रोटिनको मात्रा बढी भएका गहुँका जातहरू विकास गरिरहेका छन्।

गहुँको बढ्दो विश्वव्यापी मागलाई पूर्ति गर्न बहुआयामिक दृष्टिकोणको आवश्यकता छ। यसमा आनुवंशिक सुधार, आधुनिक कृषि प्रविधि र नयाँ उत्पादन क्षेत्रहरूको विस्तार समावेश छन्। विज्ञानका नवीनतम उपलब्धिलाई प्रयोगशालाबाट सिधै किसानको खेतसम्म पुर्‍याउने कार्यलाई अहिले तीव्रता दिइएको छ।
यस क्षेत्रमा ‘क्रिसपर’ (CRISPR) जस्ता अत्याधुनिक जीन-इडिटिङ प्रविधि एक ठूलो फड्को सावित भएको छ। यो यस्तो प्रविधि हो, जसले जीवित प्राणी वा वनस्पतिको जीनलाई अत्यन्तै सूक्ष्म र सटिक रूपमा परिमार्जन गर्ने अनुमति दिन्छ। उदाहरणका लागि, दाना भरिने (Grain Filling) प्रक्रियालाई सुस्त बनाउने जीनहरूलाई पहिचान गरी सुधार गर्दा अहिले अझ गह्रौँ र बढी उत्पादन दिने गहुँका जातहरू विकास गर्न सम्भव भएको छ।

आधुनिक प्रविधिको तिव्र प्रयोग

‘प्रिसिजन एग्रिकल्चर’ (Precision Agriculture) र कृत्रिम बुद्धिमत्ता (AI) ले गहुँ खेतीमा आमूल परिवर्तन ल्याइरहेका छन्। स्याटेलाइट म्यापिङ, एआई-आधारित अनुगमन र आवश्यकताका आधारमा मात्र मलखाद प्रयोग गर्ने प्रविधिले स्रोतको अपव्यय घटाउन र उत्पादकत्व बढाउन मद्दत पुर्‍याएका छन्। ‘अर्ली-वार्निङ’ प्रणालीमार्फत गहुँमा लाग्ने सिन्दुरे (Rust) जस्ता रोगहरू लक्षण देखिनुअघि नै पहिचान गर्न सकिन्छ, जसले गर्दा समयमै उपचार गरी बाली नोक्सानी हुनबाट जोगाउन सकिन्छ।

समग्रमा, बदलिँदो जीवनशैली, वैज्ञानिक आविष्कार र आर्थिक विश्वसनीयताले गहुँलाई विश्वव्यापी रूपमा अपरिहार्य बनाएको छ। निरन्तरको अनुसन्धान र जिम्मेवार कृषि प्रणाली अपनाइएमा गहुँले भविष्यमा पनि विश्वको खाद्य सुरक्षा सुनिश्चित गर्न नेतृत्वदायी भूमिका खेलिरहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय