चर्चित

केशवराज काफ्ले
वरिष्ठ कृषि विज्ञ (सेवानिवृत्त)
९८४१४१२५८३ र ९८५१२२२५८३/[email protected]

कृषिका लागि वन अपरिहार्य छ। कृषिका लागि आवश्यक पर्ने प्राङ्गारिक मल वनका पात-पतिङ्गरबाटै प्राप्त हुन्छ। पशुपालनका लागि पनि वन नै चाहिन्छ। सामुदायिक वा सरकारी वन जुनसुकै होस्, उसको शत्रु आफूसँगै लुकेर बसेको छ । त्यो हो सुकेका पात, दाउरा, खर आदि। हुन त यिनै सुकेका पात, खर, दाउरा, मुढाले नै त्यहाँका प्राकृतिक जीवहरूलाई आश्रय दिने र त्यहाँ भएका जीवहरूको खाना, पानी र जल संरक्षणको प्रमुख कारक तत्व हुन्, तापनि मानिसहरूको अज्ञानताले भनौँ वा लापरवाहीले भनौँ वा मूर्ख्याइँले भनौँ वा एकछिनको राक्षसी विचारले भनौँ, हिउँद वा सुख्खा मौसममा वनमा आगो लगाइदिने गर्दछन्। यसरी आगो लगाउने भनेको हरतरहबाट वातावरण, राष्ट्रको धन, वन्यजन्तु, चराचुरुङ्गी, जडीबुटी, सूक्ष्म जीव (ब्याक्टेरिया), गड्यौला आदिको वासस्थान नै नाश हुनु हो। वनमा आगो लगाउन खोज्ने व्यक्तिले आगो लगाउनु अगाडि एकछिन आँखा चिम्म गरेर सम्झौँ त ? आफ्नो घरमा कसैले आगो लगाइदिए आफूलाई कस्तो हुन्छ होला ?

मानव बस्तीलाई चाहिने पानी र बिरुवाको आधार नै वनजङ्गल हो। यसलाई विनाश गर्न छिनभर लाग्दैन तर निर्माण गर्न तथा सुधार गर्नका लागि वर्षौं लाग्दछ। धर्म गर्न देवताको मन्दिर जान र कसैलाई दान गर्न पर्दैन, आफ्नो कारण कुनै जीव तथा प्राणीहरूलाई दुःख हुने काम नगरेमा वा दुःखबाट हटाउन सके नै महान् धर्म हुन्छ। त्यसैले वनलाई संरक्षण गरौँ; आर्थिक र वातावरणीय विकास गरी मानवता देखाऔँ, दानवता होइन।

“एउटा गोलीले दुइटा शिकार” गर्ने भन्ने नेपाली उखान चरितार्थ पार्नका लागि कृषि र वनलाई जोड्न सकिन्छ। त्यो हो— एउटै कामले कृषि पनि राम्रो हुने, वन पनि राम्रो हुने। सरकार तथा समुदायले यसलाई प्राथमिकता दिएर काम गर्नुपरेको छ। हेर्दा केही छैन तर आफू बसेको ठाउँको वातावरण स्वच्छ बनाउन र आफूमा आश्रित जीवजन्तु, वनस्पति (अन्न, फलफूल, तरकारी) लाई समेत उद्धार गर्नु नै महान् धर्म र मानव सभ्यता हो। मानिस र अरू जनावरसँग तुलना गर्नु भनेकै सभ्यतासँग तुलना गर्नु हो।

वनमा पानीको संरक्षणका लागि कम्पोस्ट खाडल
हाम्रो पानीको स्रोत भनेकै वन-जङ्गल हो। वर्षात्‌मा परेको पानी जमिनमा सोसिन्छ र सोसिएको पानी जमिनमुनिबाट रसिँदै तल-तल कुनै ठाउँमा मूलको रूपमा निस्कन्छ। वर्षात्‌मा परेको पानी भिरालो जग्गाबाट तल जाने क्रममा जति रोक्न सकियो, उति नै पानी जमिनमा सोसिने दर बढी हुन्छ। वनमा तेर्सो कुलो-कुलेसा वा नाला बनाउँदा वर्षात्‌मा परेको ठूलो भल पानीलाई हिउँदको पात-पतिङ्गरलाई मल बनाउन खनिएको कम्पोस्ट खाडलमा (मल निकालिएपछि) सङ्कलन भई पानीको वेग रोकिन जान्छ। यसले गर्दा जमिन धेरै भिज्ने, बाढी कम आउने, भू-क्षय कम हुने, मूलहरूमा पानीको स्रोत बढ्ने, वन्यजन्तुले पानी खान पाउने र खाडल साना-साना पोखरीको रूपमा परिणत हुन्छन्। मल बनाउन खनिएका खाडलमा वर्षात्‌को पानी जम्मा भई जमिनमा सोसिँदा वरपरका बिरुवालाई लामो समयसम्म चिस्यान रहने हुँदा त्यस ठाउँको बोटबिरुवा पनि राम्रो हुन्छ। इकोसिस्टममा पनि सहयोग पुग्ने र पानी जमिनको तलसम्म जाने हुँदा तहाँभन्दा तलका पानीका स्रोतहरूलाई पनि राम्रो हुने गर्दछ।

वन र पशुपालन
पशुपालनका लागि मुख्य आधार भनेकै घाँस काटेर ल्याई घरमा बाँधेर राखिएका पशुलाई खुवाउन होस् वा चरनमा लगेर पाल्न होस्, वन उपभोक्ता समितिले वनमा डालेघाँस तथा भुइँघाँस लगाउन जोड दिनुपर्दछ। यसले गर्दा ती रुखको प्रयोगले पशुपालनमा प्रत्यक्ष रूपमा सहयोग पुग्दछ। पशुले खाने खाले बिरुवा लगाउँदा एकातिर पशुपालन व्यवसाय फस्टाउँछ भने अर्कातिर वनमा सुकेका पात-पतिङ्गर कम भई डढेलो लाग्ने सम्भावना कम हुन्छ।

वनमा घाँस-दाउरा खुलाउने
बेलाबेलामा सुकेका दाउरा, घाँसपात, पतिङ्गरका लागि वन खुलाउने; झाडी हटाउने, काटछाँट तथा गोडमेल गरी वनका ठूला रुखको गुणस्तर बढाउने र वनलाई नै आफ्नो प्राकृतिक सम्पत्तिको रूपमा लिने गर्नुपर्छ। वनलाई ब्लकमा विभाजन गरी ब्लकको सिमानामा ‘फायर लाइन’ को रूपमा १० देखि २० मिटरसम्म भुइँ सफा गरी जैविक पदार्थ सङ्कलन गर्नुपर्दछ। पात-पतिङ्गरलाई मुख्य रूपमा कम्पोस्ट मल, छापो आदिको रूपमा कृषकले प्रयोग गर्न सक्छन्। ब्लक विभाजन नगरी अस्थायी फायरलाइनको रूपमा जमिनको बनावट अनुसार बनाउन पनि सकिन्छ। वनबाट हिँडडुल गर्ने बाटोलाई नै फायरलाइनको रूपमा प्रयोग गरी दायाँबायाँ सफा गर्न पनि सकिन्छ। सकभर सिमाना सफा गर्न अझ राम्रो हुनेछ।

वन र वातावरण
नेपालमा वनजङ्गल बढी भएकै कारण कार्बन उत्पादन गर्ने औद्योगिक देशहरूबाट जम्मा भएको रकमबाट नेपालमा वृक्षरोपणका विभिन्न काम भएको अवस्था छ। तर अर्कातिर, डढेलो लगाई असङ्ख्य बोटबिरुवाका साना पोथ्रा नष्ट गरेका छौँ भने डढेलोकै कारण कुनै बेला नेपाल विश्वको दोस्रो प्रदूषित देश बन्न पनि पुगेको छ।

स्वर्गजस्तो देश, जहाँ हिमाल, पहाड र तराईको सबै खाले वातावरण पाइने र सबै खाले जन्तु-जनावर पाइने नदीनालाको धनी देशलाई प्रदूषित देशको रूपमा गणना गराउने हामी कति बेकुफ हौँ? प्रकृतिले दिएको स्वर्गीय वातावरणलाई नर्क बनाएका छौँ। प्रदूषणकै कारण बाहिर निस्कन नहुने स्थिति सिर्जना गरेका छौँ।

हामीले वातावरण दिवसमा २/४ सय बोटबिरुवा रोपेर मनाउँछौँ, तर वनमा हप्तौँसम्म डढेलो लागेर वनमा आश्रित सबै जीव-जनावर नष्ट हुँदा तमासे भएर हेरिरहेका छौँ। के यो प्राथमिकतामा नपरेको हो? त्यसो हो भने प्राथमिकता के हो त? के स्थानीय सरकारलाई डढेलो निभाउने अधिकार संविधानमा लेखिएन? कि ऊ नियम पालना गर्न सक्षम छैन? वनमा आगो लगाउनेलाई समाउन किन नसकेको? के त्यो आगो भूतले लगाएको हो, समाउनै नसकिने ?

वनलाई कसरी आयमूलक बनाउने ?
ठाउँ अनुसार जङ्गलमा पाइने खानयोग्य फलफूल, तरकारी, औषधीय गुण भएका र औद्योगिक बोटबिरुवा जस्तै: दालचिनी, जङ्गली काफल, ऐँसेलु, पानी अमला, बयर, चुत्रो, कटुस, लप्सी, कोइरालो, टिमुर, निगालो आदिको नर्सरी गरी व्यापक रूपमा वृक्षरोपण गरेर स्थानीय बासीको आयआर्जन बढाउन सकिन्छ। वनमा सिस्नो, केतुकी, अल्लो आदिको व्यवस्थित खेती गरेर त्यसबाट धागो निकाली कपडा तथा अरू सामान बनाएर लघु उद्योग स्थापना गर्न सकिन्छ। वनको सुकेका घाँस, पात र झाडीको रूपमा फैलिएका सुकेका तथा हरिया पातबाट मल बनाई उपभोक्ताले प्रयोग गरेर उत्पादन बढाउन सक्छन्।

वनको पत्करबाट कम्पोस्ट मल उत्पादन
नेपाल कृषिप्रधान देश होइन, कृषि आयातमुखी देश बन्न पुगेको यथार्थ विदितै छ। कृषिको विकासका लागि वनको अति नै महत्त्व छ भने वन संरक्षणका लागि पनि प्राङ्गारिक कृषिको उत्तिकै महत्त्व छ। त्यसैले वनबाट प्राप्त हुने पात-पतिङ्गर, घाँसपात, दाउरा आदिको व्यवस्थित तरिकाले प्रयोग र सदुपयोग गरी वनलाई डढेलोबाट हुने नोक्सान घटाउन र प्राङ्गारिक उत्पादन बढाउन ध्यान दिनुपर्ने आवश्यकता छ।

कृषिजन्य बाली तथा वस्तुलाई आवश्यक पर्ने मल र जलको स्रोत नै वनजङ्गल हो र वनजङ्गलको संरक्षक नै मानिस समुदाय हो। कृषिका लागि आवश्यक पर्ने मलका लागि कृषि व्यवसायीले हिउँदमा वनमा भएका सुकेका पात-पतिङ्गर आफ्नो घर-खेतमा ल्याएर होस् वा पातलाई वनमै खाडल वा थुप्रो बनाइ जम्मा गरेर होस्, इ.एम. जस्ता जैविक वस्तुहरू हालेर गलाएर गुणस्तरीय कम्पोस्ट मल बनाउन सकिन्छ। हिउँदमा वनमा पात झर्ने समयमा पातको अवस्था हेरेर हरेक १५ दिनमा सुकेका घाँस-पात सोहोरेर मल बनाउनका लागि वन खुलाउने। यसले गर्दा आगो लाग्ने वस्तु कम हुनाले आगो लाग्दैन र लागिहाले पनि व्यवस्थापन गर्न सहज हुनेछ।

प्राङ्गारिक मलको दोस्रो ठूलो स्रोत भनेकै कम्पोस्ट मल हो। नेपालमा वनजङ्गल बढी भएका कारण अक्सिजन उत्पादन गर्ने राष्ट्रको हैसियत भएको देशमा कृषिका लागि बाहिरी देशबाट रासायनिक मल ल्याउन बाध्यकारी भएको अवस्था छ। कम्पोस्ट मलको प्रमुख स्रोत वनजङ्गलका सुकेका पात-पतिङ्गर, स्याउला, वनमारा र तितेपाती प्रशस्त उपलब्ध छ। भुइँमा झरेका सल्लाको पातका कारण अरू काठ तथा घाँसको प्रयोगमा आउने रुख तथा भुइँघाँसको नाश भएकाले पशुका लागि चरन गर्ने चौरहरू सल्लाको पातले ढाकेर गौचरण नै हराएको अवस्था छ। त्यही सल्लाको पात बटुलेर सोतरको रूपमा प्रयोग गर्दा पनि सो पात नगल्ने भएकाले बारीमा खुम्रेकीरा, धमिरा आदिको प्रकोप बढेको अवस्था छ।

सल्लो नहुने तल्लो क्षेत्रमा वनमारा, निलो गन्धे आदिको अतिक्रमणले पनि अरू लाभदायक बोटबिरुवा र गौचरणहरूलाई विस्थापित गरेको अवस्था छ। यसैलाई मध्यनजर गरी यी वस्तुलाई सहज तरिकाबाट गलाई गुणस्तरीय कम्पोस्ट मल बनाउनका लागि शैक्षिक संस्था र अनुसन्धान गर्ने संस्थाहरू लागी पर्नुपरेको छ। यसका लागि कम्पोस्ट मल उत्पादनका तपसिल अनुसारका परीक्षण तथा प्रदर्शनहरू सञ्चालन गर्न जरुरी छ :

सल्लाको पातलाई इ.एम. जस्ता डिकम्पोजर तथा कृषि चूनको प्रयोग गरी मल बनाउने अभियान चलाउने र यो तरिका र यसको महत्त्वको बारेमा कृषकहरू माझ पुर्‍याउने।
– सल्लाको पात छिटो गलाउन के प्रयोग गर्दा हुन्छ र त्यसको पि.एच. तथा गुणस्तर सुधारका लागि के प्रयोग गर्ने भन्नेबारे अनुसन्धान तथा प्रचार-प्रसार गर्ने।
– सल्लाको पातको कम्पोस्ट मल बनाउने जस्तै वनमारा, तितेपाती, स्याउला आदिको पनि परीक्षण गर्ने।

यी माथि उल्लेख गरिएका प्राङ्गारिक मल उत्पादन तथा प्रयोगसम्बन्धी कुरा व्यापक रूपमा प्रचार-प्रसार गर्नका लागि स्कुल तहकै पाठ्यक्रममा व्यवस्था गरी नेपाललाई कृषिकै माध्यमबाट समृद्ध बनाउन सकिन्छ। यसका लागि जो जहाँ छौँ, त्यहाँबाट आजबाटै सुरुवात गरौँ।

वनको पत्करबाट कम्पोस्ट मल उत्पादन: लागत तथा लाभ विश्लेषण
वन-डढेलो न्यूनीकरण र प्राङ्गारिक कृषिको प्रवर्द्धनका लागि वनको पत्करबाट मल बनाउने कार्य आर्थिक रूपले अत्यन्तै लाभदायक देखिन्छ। तराई क्षेत्रको १ हेक्टर (करिब २० रोपनी) वन क्षेत्रबाट सङ्कलन हुने पत्कर व्यवस्थापनको लागत र त्यसबाट प्राप्त हुने आम्दानीको विस्तृत विश्लेषण तल प्रस्तुत गरिएको छ।

लगानी र प्रक्रिया:
१ हेक्टर वनको पत्कर प्रशोधनका लागि सुरुमा संरचना र श्रममा केही लगानी आवश्यक पर्दछ। १ मिटर चौडाइ, २ मिटर लम्बाइ र ३ मिटर गहिराइको कम्पोस्ट खाडल खन्न, आवश्यक औजारहरू (बेल्चा, गैँती, कोदालो) खरिद गर्न, र पत्कर ओसार्न डोको-नाम्लोको जोहो गर्न करिब १३,४०० रुपैयाँ खर्च हुन्छ। पत्करलाई छिटो गलाउन इ.एम. (EM) र ट्राइकोडर्मा जस्ता जैविक वस्तुहरू, गोबर मल र संकलन तथा मल फर्काउने श्रमिकहरूको ज्याला समेत जोड्दा पहिलो वर्षको कुल अनुमानित लागत ३५,४०० रुपैयाँ हुन आउँछ।

अनुमानित उत्पादन र आम्दानी:
यस प्रविधिबाट हुने उत्पादन र त्यसको बजार मूल्य हेर्दा यो कार्य निकै आकर्षक छ। १२ घनमिटर क्षमताको एउटा खाडलबाट करिब ६ घनमिटर अर्थात् ४,००० केजी तयारी मल उत्पादन हुन्छ। हालको बजार दर अनुसार प्रति केजी २५ रुपैयाँका दरले बिक्री गर्दा एउटा खाडलबाट मात्रै १,००,००० रुपैयाँ बराबरको मल प्राप्त हुन्छ। १ हेक्टर क्षेत्रफलमा यस्ता ४ वटा खाडलहरू निर्माण गरी मल उत्पादन गर्दा वार्षिक कुल ४,००,००० रुपैयाँ आम्दानी हुने देखिन्छ।

नाफा विश्लेषण:
पहिलो वर्ष कुल आम्दानी ४,००,००० रुपैयाँबाट लागत ३५,४०० रुपैयाँ घटाउँदा ३,६४,६०० रुपैयाँ खुद नाफा आर्जन गर्न सकिन्छ। दोस्रो वर्षदेखि खाडल खन्ने श्रम र औजार खरिदको खर्च (करिब १२,००० रुपैयाँ) नलाग्ने हुनाले वार्षिक नाफा बढेर ३,७६,६०० रुपैयाँ पुग्दछ।

यद्यपि, यो खर्च र आम्दानीको विवरण स्थानीय दर, भौगोलिक अवस्था र स्रोतको उपलब्धता अनुसार केही फरक पर्न सक्छ। यसरी वनको शत्रु मानिने सुकेका पत्करलाई व्यावसायिक रूपमा मल बनाएर एकातिर वन डढेलोको जोखिम शून्यमा झार्न सकिन्छ भने अर्कातिर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै कृषि उत्पादनमा समेत ठूलो योगदान पुर्‍याउन सकिन्छ।

मुख्य तथ्याङ्कहरू:

एउटा खाडलको उत्पादन: ४,००० केजी मल

१ हेक्टरबाट कुल आम्दानी: ४,००,००० रुपैयाँ

पहिलो वर्षको खुद नाफा: ३,६४,६०० रुपैयाँ

दोस्रो वर्षदेखिको नाफा: ३,७६,६०० रुपैयाँ

कृषि र वनको अन्तरसम्बन्धलाई नजिकबाट बुझ्नुभएका  वरिष्ठ कृषि विज्ञ केशवराज काफ्ले, डढेलो नियन्त्रण र प्राङ्गारिक उत्पादनमार्फत कृषकको आयआर्जन बढाउने व्यावहारिक समाधानका प्रणेता हुनुहुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय