चर्चित

सुशिल अर्याल
प्रमुख, पशु सेवा शाखा, गल्याङ नगरपालिका, गल्याङ ,स्याङ्जा

नेपालको पशुपालन क्षेत्रमा बाख्रापालनको स्थान महत्वपूर्ण रहेको छ । नेपालमा मुख्य रुपमा मासु मल, पश्मिना, बाख्रापालन आदिका लागि बाख्रापालन पालिने गरिन्छ । यसको साथै हिमाली क्षेत्रमा मालसामान ढुवानी कार्यमा समेत संलग्न गराइन्छ । त्यस्तै बाख्राको छाला, रौँ र हाडबाट विभिन्न किसिमका सामानहरु बनाउने गरेकोे पाईन्छ । यस बाहेक बाख्राको दुध दैनिक प्रयोगमा प्रचलित नभए तापनि रोगी तथा बालबालिकाहरुलाई बिभिन्न रोग लाग्दा सेवन गराउने चलन छ । हाल नेपाल चित्लांगमा बाख्राको दुध बाट चिज बनाएर बिक्री वितरण गरिएको छ । यस्तै भिरकोट नपा वडा नं ८ ओकादी स्याङजामा बाख्रा को दुधबाट साबुन तथा चिज बनाउने तयारी भएको छ । त्यैसैले पनि बाख्रालाई बहुउद्धेश्यिय जनावर भन्नमा दुईमत नहोला ।

नेपालमा हालको बाख्राको अबस्था कस्तो छ ?

पशु सेवा विभागको जानकारी अनुसार नेपालका पशु चौपायाको कुल संख्यामध्ये बाख्राको संख्या सबैभन्दा धेरै अर्थात १ करोड ८४ लाख रहेको छ । संसारमा जम्मा ३५१ प्रकारका बाख्राका प्रजाति पाइन्छन । ति बाख्रामध्ये एशिया महादेशमा मात्रै १४६ प्रकारका बाख्राका प्रजाती पाइन्छन् भने नेपालमा च्याङग्रा, सिन्हाल, खरी, तराई गरी ४ प्रजातिका रैथाने बाख्रा रहेका छन् । नेपालमा बिगत केही बर्षदेखि व्यावसायिक रुपमा बोयर जातको बाख्रालाई अभियानकै रुपमा पाल्ने गरीएको छ । यो जातको बाख्राबाट बढी फाइदा हुने भएकोले व्यावसायिक किसानहरु यसतर्फ आकर्षित हुन थालेका हुन् । विश्वको कुल बाख्राको संख्याको करीव ९२.५ प्रतिशत एशिया र अफ्रिका महादेशमा पाइन्छन् । विश्वव्यापी बाख्रापालनको तथ्याङक हेर्दा संख्याको आधारमा नेपाल विश्वमा दशौँ स्थानमा छ ।

पहिलो स्थानमा चीन, दोश्रोमा भारत पर्दछन् । नेपाल सरकारको व्यापार तथा निर्यात प्रवर्धन केन्द्रको आव २०७४÷७५ को तथ्याङक अनुसार नेपालमा त्यस आव मा मात्र भारत, मलेसिया, इटाली, फ्रान्स, अष्ट्रेलिया, पोल्यान्ड, जर्मनी लगायतका देशबाट करिब ५ अर्ब बराबरको जिवित बाख्रा र मासु आयात भएको छ ।
नेपालमा व्यवसायिक बाख्रापालनको प्रचुर सम्भावना हुँदाहुँदै पनि परम्परागत पालन प्रणाली, बाख्रा विशेष दानाको अभाव, उन्नत घाँस खेती नहुनु आदि कारणले समस्या देखिन्छ । युवाहरुलाई व्यवसायिक बाख्रापालनमा प्रोत्साहन गर्न नसक्नु, नश्ल सुधार हुन नसक्नु, मुल्य श्रृङखला विकास, उत्पादन विविधीकरण, दिगो बजार व्यवस्थापन गर्न सके बाख्राको मासुमा हामी आत्मनिर्भर बन्न सक्छौँ । बाख्रापालन एउटा नबिन पेशाको रुपमा विकास भैरहेको छ ।

हालका केहि तथ्याङकहरु हेर्दा पछिल्लो १०/१२ बर्षको अवस्था हेर्दा बाख्राको संख्यामा ३७ प्रतिशत भन्दा बढी बृद्धि भएको पाइन्छ । सन २००७/००८ मा बाख्राको सङख्या ८१,३५,८८० वटा थियो । हाल १,८७,६५,००९ वटा रहेका छन । स्याङजा जिल्लामा मात्र २ लाख ३४ हजार ६५९ वटा बाख्रा रहेका छन् । देशब्यापी मासु उत्पादन तथा खपत को अवस्था हेर्दा बाख्राको मासुले राष्ट्रिय उत्पादनको १९ प्रतिशत भाग ओगटेको छ । हालसम्मको अवस्था हेर्दा धेरैजसो किसानहरुले परम्परागत हिसाबले नै बाख्रापालन गरेको देखिन्छ । व्यावसायिक किसानहरु बिस्तारै बाख्रापालनतिर आकर्षित भएको अवस्था छ ।

नेपालमा पाईने स्थानीय जातका बाख्राहरु 
तराई बाख्रा
यो जातको बाख्रा प्रायः तराई क्षेत्रमा पालिन्छ । यो नेपालको तराइ क्षेत्र ५०० देखी ५५० मिटरसम्म अर्थात ५५० मिटरभन्दा कम  उचाइ भएको क्षेत्रमा पाइने बाख्रा हो । यो जातको बाख्रा जमुनापारी भन्दासानो हुन्छ तर झट्ट हेर्दा जमुनापारी जस्तै देखिन्छ । विभिन्न किसिमको रंङ कालो–खैरो, सेतो र कालोमा सेतो धर्का मिसिएको आदि रंङमा यि बाख्राहरु पाइन्छन् । बाख्राको तौल तथा उत्पादन खरी बाख्रा जस्तै हुन्छ । बाख्राको तौल ३० देखि ३५ के जी सम्म हुन्छ । यि बाख्राले पनि जुम्ल्याहा पाठापाठी जन्माउछन् । त्यसैले भित्रि मधेस तथा तराइको लागी यो नै सबै भन्दा उत्तम बाख्रा हो ।

खरी बाख्रा
यो जातको बाख्रा करिब ३०० देखि १५०० मिटर सम्मको मध्य पहाडी भेगमा यो जातको बाख्रा पालीन्छ । यसलाई नेपाली पहाडी बाख्रा भनेर पनि चिनिन्छ । नेपालमा कुल बाख्रा सङख्याको ५७ प्रतिशत खरी बाख्रा छन । सानो शारीरिक तौल फुर्तिलो शरीर भएका मुसेखरी भन्ने भुँइ घाँस मनपराएर खाने भएकोले यो जातलाई खरी भनिएको हो भन्ने पनि कथन छ ।
यो बाख्रा सानो कालो खैरो रङगको हुन्छ । बोकाको शारीरिक तौल २८ देखि ४० केजी सम्म हुन्छ । करिव ५७ प्रतिशत खरी बाख्राले जुम्ल्याहा जन्माउदछन् । राम्रो व्यवस्थापनमा पालेमा २ बर्षमा ३ पटक ब्याउन सक्ने र ब्याएका पाठापाठी ९० प्रतिशत सम्म हुर्काउने कुरा अनुसन्धानबाट थाहा हुन आएको छ । पहिलो पटक ७ महिनाको उमेरमा बाली जाने सरदर १२ देखि १४ महिनाको उमेरमा ब्याउछन् । उत्पादनको दृष्टिकोणले यो बाख्रा हाम्रो हावापानीमा सबै भन्दा उत्तम मानिन्छ । यो बाख्रा संसारको असल आमामा गनिन्छ । हाल हाडनाता प्रजननको समस्याले यो बाख्रा खिँइदै गएको पाइन्छ । नेपालमा भएको खरी बाख्रा मध्ये सबैभन्दा राम्रो सल्यान जिल्ला मा पाउन सकिन्छ ।

सिन्हाल
यो बाख्रा नेपालको उच्च पहाड तथा पर्वतिय भागमा पाइन्छ । यो बाख्रा घुम्ती गोठ प्रणालीमा पालीन्छ । यो बाख्रा नेपालमा भएका कुल बाख्राको २५ प्रतिशत छ । यो बाख्रा वरुवाल तथा भ्याङलुङ जातका भेँडा सँंगसँगै पालिने तथा घुम्ती गोठमा भेँडाको बथानको पथ पर्दशकको काम पनि गर्दछ । नेपाली बाख्रा मध्ये यो जातको बाख्रा सबैभन्दा ठुलो शरिर भएका हुन्छन । यी बाख्रा छोटो टाउको, सिधा नाक, कालो, सेतो र खैरो रङ भएका हुन्छन् । बयस्क बोकाको औषत तौल ४२ केजी र बाख्रीको ३४ केजी हुन्छ । ठुलो खालको सिन्हाल बाख्रा ५० केजी तौल सम्मको हुन्छ । करिब २५ प्रतिशत बाख्राले मात्र जुम्ल्याहा पाठापाठी जन्माउछन् ।
सिन्हाल बाख्राले आफ्नो शारीरिक तौलकोे ३० प्रतिशत बराबरको तौल बोक्न सक्छ, त्यसैले कर्णाली भेगका जिल्लाहरुमा यसलाई भारी बोक्ने काममा पनि लगाइन्छ । यसका साथै प्रति वर्ष २०० ग्रामका दरले खस्रो रौँ उत्पादन पनि गर्दछ । जसबाट नाम्लो, फेरुवा, लिउ आदि बनाउनपनि सकिन्छ ।

च्याङग्रा
यो जातको बाख्रा राम्रो व्यावस्थापन गरी अनुसन्धान गरेर पस्मिनाको बारेमा थप अनुसन्धान आवश्यक छ । यो जात संसारको राम्रो पस्मिना उत्पादन गर्ने जातको बाख्रा हो । यो जातको बाख्रा हिमालय श्रृङखलाको पहाडी सुख्खा चिसो हावा चल्ने अर्ध मरुभुमी जस्तो ठण्डा ठाँउमा पाइन्छ । हिन्दुकुश पर्वतिय क्षेत्रको पछाडी पट्टीको भाग यो जातको बाख्राको प्रमुख पालन स्थान भएको हुनाले भारतको कश्मिर तथा चिनको तिब्बत क्षेत्रमा यो बाख्रा बढी सङख्यामा पालीन्छ । नेपालमा यो बाख्रा कुल बाख्रा सङख्याको १ प्रतिशत मात्रै छ । च्याङग्राको शरिर बाक्लो लामो रौँले झपक्क ढाकेको हुन्छ रौँ को भित्र मसिनो रौँ हुन्छ । जसलाई पश्मिना भनिन्छ । यो जातको बाख्रा सानो तर अली लामो टाउको चम्किलो आँखा, सिधा नाक, साँघुरो थुतुनो, गोलो घाँटी र कसीलो शरीर भएको हुन्छ । च्याङग्रा खास गरि काला सेता हुन्छन टाउकोमा पनि कालो सेतो हुन्छ । बोका र बाख्रा दुवैको १७ देखि २८ सेमी लामो सिङ हुन्छ । बाख्राको वयस्क तौल २७ देखि ३० केजी हुन्छ भने बोकाको ३५ देखि ४० केजी हुन्छ । यो बाख्रा प्रति दिन ३० देखि ५० ग्राम का दरले बढ्ने गर्छ । वर्षमा एक पटक ब्याउने र एक दम कमले मात्र दुइवटा जन्माउने हुन्छ । जन्मेको लगभग ८०० दिनमा पहिलो पटक बाली जान्छ । यो बाख्राले आपm्नो तौलकोे ३० प्रतिशत भारी बोक्न सक्छ । यो बाख्राले हिमाली भेगमा जंगली जडीबुटी खाएर आफ्नो जिबिका गर्ने हुनाले यसको मासु औषधिको रुपमा खाने धारणा भएकोले यसको बजार मुल्य समेत बढी छ । अब यसको व्यावसायिक पालनको लागि थप अनुसन्धान हुनु जरुरी देखिन्छ । च्याङग्राको लागि रुख नहुने र आकाशबाट पानि नपर्ने ठाउँ मात्र हुने हुनाले यसको लागि सोहि अनुसारको क्षेत्र रोज्नु पर्छ ।

रैथाने अर्थात स्थानीय बाख्राको महत्व
रैथाने जातका बाख्राहरु शारीरिक रुपमा साना हुने भएपनि रैथाने हावापानीमा राम्रोसँग भिजेको हुनाले विदेशी बाख्राको तुलनात्मक साधारण व्यवस्थापन तथा स्याहार सुसारमा पनि राम्रो उत्पादन दिन सक्छन् । रैथाने जातका बाख्रा पालन गरी मुख्यतया निम्न फाइदाहरु लिन सकिने हुनाले महत्वपुर्ण मानिन्छ ।

– यि बाख्राहरुलाई तुलनात्मक रुपमा कम रोग लाग्छ ।
– रैथाने जातका घाँसपात र कृषिउपपदार्थहरु र भान्छाबाट खेर जाने पदार्थहरु खुवाएर पनि पाल्न सकिन्छ ।
– रैथाने वातावरण तथा हावापानीमा भिजिसकेको हुनाले वातावरणको प्रतिकुल प्रभावलाई खप्न सक्ने क्षमता हुन्छ ।
– रैथाने खसीबोकाको मासुको स्वाद सबैले मन पराउने हुनाले बेच्ने समस्या पर्दैन ।
– शरीरिक तौल कम हुने हुनाले सानातिना चाडपर्व तथा सानातिना बजारमा पनि सजिलै बेच्न सकिन्छ ।
– परापुर्व कालदेखि नै नेपाली कृषकहरुले बाख्रापालन गरी आएको हुनाले यस सम्बन्धि परम्परागत ज्ञानको उपयोग गरी रैथाने बाख्रापालनलाई निरन्तरता दिन सक्छन् ।
– भविष्यमा यिनै स्थानिय बाख्राहरुबाट छनौट गरी राम्रो उत्पादन दिने जातहरु बिकास गर्न सकिन्छ ।
– स्थानिय बाख्राहरुलाई उन्नत जातहरुसँग क्रस गराई हावापानी सुँहाउदो जात बिकास गर्न सकिन्छ ।
–पर्यावरणीय दृष्टिकोणबाट पनि महत्वपुर्ण मानिन्छ ।
–पाठापाठी ५÷६ महिनामा उमेर पुगेपछि बेच्न सकिने, पाठीहरु चाँडै नै ब्याउने, एक पटकमा १ भन्दा बढी पाठापाठी दिने र ब्याउने अवधि कम हुने हुनाले स्थानिय बाख्राले छिटृै आम्दानी दिने गर्छ ।
– धेरै किसिमको घाँसपात बाँधेर पाल्न सकिने, केटाकेटीले पनि रेखदेख गर्न सक्ने, भीरपाखामा पनि चर्न सक्ने र परम्परागत पालन प्रविधि अपनाएर पनि पाल्न सकिने हुनाले स्थानिय जातका बाख्राहरुलाई पाल्न सजिलो हुन्छ । यसलाई सुधार गर्न सके उत्पादन क्षमतामा अभैm वृद्धि गर्न सकिन्छ ।
– रोग कम लाग्ने, नेपालको हावापानी सुहाउने र प्रति बाख्रामा मुल्य कम पर्ने हुनाले यस व्यवसायमा जोखिम कम हुन्छ ।
– स्वादिलो मासु भएकोले बजार सजिलै पाइन्छ ।

रैथाने जातका बाख्राहरुमा रहेका मुख्य कमजोरीहरु
स्थानिय बाख्राको त्यति ठुलो महत्व हुँदाहुँदै पनि प्रायजसो जातहरुको कम उत्पादकत्व यिनिहरुको प्रमुख कमी कमजोरी हो । यससँग अन्तरसम्बन्ध रहेका पक्षहरु निम्नानुसार रहेका छन् ।
– अनुवंशीय क्षमता नै कम हुनु ।
– सानो जिउको हुनु, वृद्धिदर कम हुनु ।
– उचित प्रजनन विधि नअपनाउनु र छनौट लागु नगर्नु ।
– खोरको उचित व्यवस्था नगर्नु ।
– दुधको लागि पाल्न नसकिने अर्थात् दुधालु नहुने ।
– आहारा र दानापानी को उचित व्यवस्था नगर्नु ।
– माउ बाख्रालाई उचित व्यवस्थापन नगर्नु ।
– बोकाको उचित व्यवस्था नगर्नु ।
– आन्तरिक एवं बाह्य परजिवी विरुद्ध समयमा प्रयोग नगर्नु ।
– रोग लागेमा समयमा उपचार नगराउनु ।
– समयमा खोप नलगाउनु ।
– चरन क्षेत्रको विकास नहुनु ।
– उन्नत पालन व्यवस्थापन कृषकहरुले नअपनाउनु ।

रैथाने बाख्राको संरक्षण र बिकासमा गर्नैपर्ने केहि कार्यहरु
– उपयोगिता मार्फत संरक्षण गर्नु नै संरक्षणको सर्वोत्तम उपाय हो ।

– छनौटको व्यवस्था गर्ने, हाडनाता प्रजनन् विधिपूर्ण रुपमा रोक लगाउने । अन्यफरक स्थानको नाता नपर्नेसँग प्रजनन गरेर पनि संरक्षण गर्न सकिन्छ ।
– ःस्वच्छ दानापानीको व्यवस्था गर्नुको साथै गोठको सरसफाई गर्ने ।
– उचित स्याहार संभार गर्ने, दानामा खनिज पदार्थ एवं भिटामिन मिसावट गरी खानदिने ।
– सेपिलो जग्गामा बाख्रा नचराउने, समय समयमा आन्तिरिक एवं बाह्य परजीवीविहरु विरुद्ध औषधी खुवाउने ।
– विभिन्न संक्रमक रोगविरुद्ध समय समयमा खोप लगाउने, रोग लागेमा समयमा नै उपचार गराउने ।
– बाख्रा र बोकालाई राख्नका लागि अलग अलग कोठाको व्यवस्था गर्ने ।
– हामीले बाख्रापालन गर्दा राम्रोलाइ खसी पार्ने नराम्रो बोका राख्ने खराब अभ्यास लागि सुधार गर्नु पर्ने ।

रैथाने बाख्रालाई ब्यवसायिकीकरण गर्नका लागि खेल्नुपर्ने भूमिका
अहिलेसम्म नेपालमा चराएर तथा केहि समय चराउने केहि समय बाँध्ने र घाँस काटेर खुवाउने गरेको पाइन्छ , फाइदा तथा घाटाको हिसाबकिताब कमैले राखेको पाइन्छ अर्थात अभिलेखीकरणमा ध्यान दिएको पाइदैन । बाख्रापालन व्यावसायलाई अझ लाभदायक, व्यवसाय उन्मुख र कृषक मैत्री बनाउनका लागि तुलनात्मक लाभ बढि हुने गरि बाख्रापालनलाई व्यवसायिक र विकास गर्ने कार्यक्रम निर्माण गरि लागु गर्नुपर्छ । बिना धितो ग्रामिण भेगमा लगानी नीतिको कार्यान्वयनका लागि बैँक, वित्तीय सस्था तथा सहकारी संस्थाहरुको स्थापना गर्नुपर्छ । वित्तीय संस्थाहरुले पशु फर्मलाई धरौटीको रुपमा स्विकार गर्ने व्यवस्था हुनुपर्छ । बजारमा किसानहरुको पँहुच विस्तार गर्ने कार्यक्रम संचालन गरिनुपर्छ । यसका लागि संकलन केन्द्र स्थापना गर्ने, स्थापित संकलन केन्द्रमा साना किसानलाई प्राथमिकता दिने जस्ता नविनतम कार्यहरु गरिनुपर्छ । बाख्राको मलमुत्रदेखि कुनै पनि कुरााको आर्थिक महत्वको प्रचार प्रसार पशु बिमा गराउने निकायको विस्तार गर्न जरुरी छ ।

लेखक अर्याल गल्याङ नगरपालिका स्याङ्जाका पशु सेवा शाखाका प्रमुख समेत रहेका छन्, उनले नेपालमा रहेका विभिन्न सम्भावनालाई आफ्ना लेखमार्फत प्रस्तुत गर्ने गरेका छन्, उनी नमुना बाख्रा गाँउ अभियानका समेत संयोजक हुन् । उनी स्याङजा जिल्ला लगायत विभिन्न जिल्लाहरुका युवाहरुलाई बाख्रापालनमा कसरी सफल बन्ने भन्ने विषयमा समेत सत्य तथ्य कुराहरुको जानकारी गराउने प्रयासमा समेत निरन्तर रुपमा लागिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय