चर्चित

नारायण प्रसाद निरौला
उपप्राध्याापक, नेपाल संस्कृत विश्वविधालय

आश्विन कृष्णपक्षको प्रतिपदादेखि औंसीसम्मका दिनहरूलाई पितृपक्ष भनिन्छ । पितृहरूको विशेष पर्व भएकाले पनि यो समयलाई पितृपक्ष भनिएको हो । पितृपक्षलई पितृको विशेष दिनका रूपमा पनि चिनिन्छ । शास्त्रमा पितृको निवासस्थान चन्द्रमाको माथिल्लो भागमा बताइएको छ । हाम्रो एक महिना बराबर पितृलोकमा एक अहोरात्र (दिनरात) हुन्छ । हाम्रो कृष्ण पक्ष हुँदा दिन र शुक्लपक्ष हुँदा पितृलोकमा रात पर्ने गर्दछ ।

नभस्यापरे पक्षे यत्र कन्यां व्रजेद्रविः । 

स महालयसंज्ञः स्याद् गजच्छायाह्वयस्तथा ।।(आख्यान चन्द्रिका) 

अर्थात् आश्विन कृष्णपक्षलाई महालय भनिन्छ । यस अवसरमा महालय श्राद्ध गर्ने वैदिक विधान छ । जस अन्तर्गत आफ्ना पितृहरूको स्मरण स्वरूप श्रद्धाभक्तिपूर्वक सम्पूर्ण पितृलाई तर्पण, श्राद्ध गर्ने वैदिक विधान रहेको छ । पितृ हाम्रा इतिहास हुन् । हाम्रा पूर्वज जसले इहलोकको अथाह ज्ञानराशि हामीलाई अर्पण गरेर गएका छन् । पितृहरूलाई स्मरण गर्ने विश्वमा भिन्न भिन्नै चलन छन् । ती मध्ये सर्वप्राचीन पद्धति वैदिक विधि हो ।

एक पक्षमा पन्ध्र दिन हुन्छन् । तिनै पन्ध्र दिन सोह्र श्राद्धका हुन् । सोह्र ओटा तिथिका श्राद्ध गरिने भएकाले पनि यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । प्रतिपदादेखि औंसीसम्म पन्ध्र र पूर्णिमा तिथिको श्राद्ध गरी जम्मा सोह्रवटा तिथिको श्राद्ध यस समयमा गरिन्छ । यसमा सोह्रै दिनका गतेलाई महŒव दिइदैन । चान्द्रमासको जुन तिथिमा आफ्नो पितृको स्वर्गारोहण भएको हो त्यही तिथिमा श्राद्ध गर्ने वैदिक विधि रहेको छ । श्राद्ध गर्ने स्थान शुद्ध र पवित्र हुनु पर्ने पनि शास्त्रीय विधान पाइन्छ ।

यसैगरी देवतालाई स्वाहा पूर्वक वस्तु अर्पण गरिन्छ भने पितृलाई स्वधाको वचन प्रयोग गरिन्छ । यसैगरी देवकार्यमा भावको प्रधानता हुन्छ भने पितृकार्यमा वचनको प्रधानता रहने गर्दछ । त्यसैले पितृकार्यका निम्ति वचनमा विशेष ख्याल राख्नुपर्ने शास्त्रीय मान्यता छ ।

अक्ष्ययासनयोः षष्ठी द्वितीयावाहने तथा ।

अन्नदाने चतुर्थी स्यात् शेषा सम्बुद्धयस्मृता ।।

अर्थात् पितृलाई अक्षयोदक र आसन प्रदान गर्दा षष्ठी विभक्तिको प्रयोग गर्नु पर्दछ । यसैगरी पितृलाई आवाहन गर्दा द्वितीया विभक्तिको प्रयोग गर्नु पर्दछ । अन्न दान अर्थात् सिदा दान गर्दा चतुर्थी विभक्तिको प्रयोग गरिन्छ भने अन्य कार्यमा सम्बोधनको प्रयोग गर्नुपर्ने शास्त्रमा बताइएको छ ।

वैदिक धर्म व्यवस्थामा सौर र चन्द्र दुवै महिनालाई उत्तिकै महत्वका साथ ग्रहण गरिन्छ । सौर र चन्द्रमास दुवै युक्त भएको महिनालाई मात्र शुद्ध महिना मानिन्छ । एक चान्द्रमासमा एउटा पनि सङ्क्रान्ति परेन भने अधिमास हुन्छ र एक सौरमासमा एउटा पनि असी परेन भने उक्त महिनालाई क्षयमास भनिन्छ । यी दुवै अधि र क्षय मास देव र पितृ दुवै कर्मका लागि निषेध गरिएको छ । सौर र चन्द्र दुवै महिना वैदिक कार्यका लागि अनिवार्य र अपरिहार्य मानिन्छन् । यस्तै चन्द्र महिनाका आश्विन कृष्ण प्रतिपदादेखि औसीसम्मको समयलाई पितृक्ष÷महालय अर्थात् सोह्र श्राद्ध भनिन्छ ।

महालय श्राद्धका छ वटा भेद रहेका छन् । तिथि निर्णयअनुसार आश्विन कृष्ण प्रतिपदादेखि शुक्त प्रतिपदासम्म १६ दिन गरिने, आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्म १५ दिन गरिने, पञ्चमीदेखि चतुर्दशीलाई छोडेर औंसीसम्म दस दिन गरिने, अष्टमीदेखि चतुर्दशीलाई छोडेर औंसीसम्म सात दिन गरिने दशमीदेखि चतुर्दशीलाई छोडेर औसीसम्म पाँचदिन गरिने, चतुर्दशीलाई छोडेर मृततिथि एक मात्र तिथिका दिन गरिने गरी महालय श्राद्धका छ भेद बताइएको पाइन्छ ।

ज्योतिष शास्त्रका अनुसार पनि पितृको निवासस्थान चन्द्रमाको माथिल्लो भाग हो । विधूध्वभागे पितरोवसन्तः स्वाधः सुधादीधितमामनन्ति ।

पश्यन्ति तेऽर्क निजमस्तको ध्वे दर्शे यतोऽस्मायुदल तदैषाम् ।। 

(सिद्धान्तशिरोमणि, २४ । १३) 

अर्थात् चन्द्रमाको माथिल्लो भागमा पितृहरूको निवासस्थान छ । हाम्रो एक चन्द्र महिना बराबर पितृको एक दिन हुन्छ । हाम्रो वर्ष दिन वराबर पितृको वाह्र दिन हुन आउछ । पितृपक्ष कृष्णपक्षमै रहनुको कारण पनि यही नै हो । पृथ्वी वासलाई कृष्णपक्ष हुँदा पितृ निवासस्थान (चन्द्रमाको माथिल्लो भाग) मा झलमल्ल दिन हुन्छ । हाम्रो शुक्लपक्षमा पितृहरूको रात हुन्छ । जब कृष्ण पक्ष लाग्छ अनि पितृहरू जागा हुन्छन् र पृथ्वीवासीले अर्पण गरेका तोय पिण्डादि वस्तु प्राप्त गर्दछन् र त्यही भोजन गरी तृप्त हुन्छन् भन्ने वैदिक विधान रहिआएको छ ।

पितृपक्षमा महालय श्राद्ध गरिन्छ । यो श्राद्ध पद्धतिको विशेष विधान हो । यस अन्तर्गत विश्वदेव ब्राह्मण र पितृ ब्राह्मण छुट्टाछुट्टै स्थापना गरेर पूजा अर्चना गरिन्छ । पिताको तिथिमा महालय श्राद्ध गर्ने विधान छ । यदि पिताको तिथि कारणवश वितिसकेको छ भने पितामह अर्थात हजुरबुबाको तिथिमा र यदि हजुरबुबाको तिथि पनि छुट्यो भने बुढा हजुर बुबाको तिथिमा श्राद्ध गर्नु पर्दछ । यदि यी तीनवटै तिथि छुटे भने एकादशी तिथिमा श्राद्ध गरिन्छ । एकादशी तिथि पनि छुटे औँसी र पितृपक्षको औंसी पनि छुटे वा थुनिए गाई तिहारे औँसीमा पितृ श्राद्ध गर्ने विधान रहेको पाइन्छ । यसैगरी अकालमा दुर्घटनाबाट मृत्यु भएकाको श्राद्ध भने चतुर्दशीमा गरिन्छ । पितृपक्ष र औंसी तिथिमा मृत्यु हुनेहरूको एकपार्वण विधिले श्राद्ध गर्नु पर्दछ भनी याज्ञवल्क्यस्मृतिको आचाराध्यायमा उल्लेख छ ।

पितृकार्यमा विश्वेदेवको महत्वपूर्ण स्थान छ । दक्षकी पुत्री विश्वाका गर्भबाट उत्पन्न दश देवताको एक गण नै विश्वदेवहरू हुन् । भिन्न भिन्न श्राद्धमा यिनको भिन्न भिन्न नामले पूजा हुन्छ ।

इष्टिश्राद्धं क्रतूदक्षी सत्यी नान्दीमुखे वसू ।

नैमित्तिके कामकाली काम्ये च धूरिलोचनी ।।

पुरुरवागरवौ चैव पार्वणे समुदाहृतौ । ( निर्णयसिन्धु)

अर्थात् इष्टिं श्राद्धमा क्रतु र दक्ष वृद्धि श्राद्धमा सत्य र वसुनैमित्तिक श्राद्धमा काम र काल, काम्य श्राद्धमा धूरि र लोचन, पार्वणश्राद्धमा पुरुरव र आरव नाम गरेका विश्वेदेवको पूजा गरिन्छ । वसु रुद्र र आदित्य पितृश्राद्धका देवता हुन् (वसुरुद्रादितिसुता पितरः श्राद्धदेवताः) भनी याज्ञवल्क्य स्मृतिमा उल्लेख गरिएको छ । अर्थात् पितृ तह वसुसंज्ञक,पितामह (हजुरबुबा तह रुद्रसंज्ञक र प्रपितामह तह बुढा हजुरबुबा ÷ बुढी हजुरआमा) आदित्यसंज्ञक पितृ हुन्छन् । यसैगरी मावली हजुबुवा ÷ हजुरआमा वसु बुढा हजुरबुबा हजुआमा रुद्र र कुप्रा हजुरबुबा÷ हजुरआमा आदित्य संज्ञक पितृ मानिन्छन् ।

पितृका पनि देवता रहेका छन् । ब्रह्माका पुत्रमध्ये स्वर्गमा रहने सात देवता पितृ देवगण हुन् । यीमध्ये चार सुकाल, अंगिरस, सुस्वधा र सोमपा मूर्तिमान (मूर्त) पितृदेव हुन् । अमूर्त देवतमा वैराज, अग्निष्वात्त र वर्हिखद पर्दछन् । नाम गोत्रको उच्चारण गर्दै स्वर्गीय पितृहरूको आराधना गरेमा यी पितृहरूले स्वर्गमा गएका आफ्ना बाबुआमा आदिलाई तृप्त गराउछन् भन्ने कुरा हरिवंश पुराणमा उल्लेख पाइन्छ । पितृका राजा भने यमराज हुन् ।

श्राद्धमा पितृ गायत्रीको विशेष महिमा रहेको छ । पितृ गायत्रीको जपपाठले पितृलाई तृप्ति मिल्ने गर्दछ । यसलाई कम्तिमा तीनपटक पाठ गर्नुपर्दछः

देवताभ्यः पितृभ्यश्च महायोगिभ्य एव च ।

नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः्र (अग्निपुराण, ११४।२२)

देवता, पितृ, महायोगी, स्वधा (पितृपत्नी), स्वडा (देवपत्नी) सहितलाई मेरो नमस्कार छ भन्ने यो भावको महिमा अग्निपुराणले पनि विशेष गाएको पाइन्छ । यसैगरी श्राद्धमा अनजानवश भएका त्रुटिको निवारण यस मन्त्रले गर्दछ ।

श्रद्धापूर्वक गरिने कार्य नै श्राद्ध हो । पितृहरूका लागि आफूलाई मीठो लाग्ने र खाइने वस्तु श्रद्धासाथ चढाउंदै गरिने कर्म वा पुजा विशेष नै श्राद्ध हो ।

प्रेत पितृश्च निर्दिश्यभोज्य यत्क्रिययात्मनः । 

श्रद्धया दीयते यत्र तछाद्धं परिकीर्तितम् । 

निर्णय सिन्धुले यसरी श्रद्धापूर्वक गरिने कार्यलाई श्राद्ध भनेको छ । पितृहरूका निम्ति शास्त्रले बताएको समय र स्थानमा पकाएको वा काचो अन्न तथा सुन आदि द्रव्य विधिपूर्वक चढाउनु वा दान गर्नु नै श्राद्ध हो भनी धर्मसिन्धुले पनि श्राद्धको व्याख्या गरेको छ ।

देशे काले च पात्रे च श्रद्धया विधिना च यत् । 

पितृनुद्दिश्य विप्रेभ्यो दत्त श्राद्धमुदाहृतम् ।। 

अर्थात् श्रद्धाले विधिपूर्वक पितुहरूको उद्देश्य राखी विद्वान् ब्रह्मणलाई दान गर्नु पनि श्राद्ध नै हो । श्राद्ध गर्ने चलन सर्वप्रथम ब्रह्माबाट भएको हो । ब्रह्मा पश्चात् दत्तात्रेयका छोरा निमिले आफ्नो श्रीमान् नामकछोराको परलोक हुदा श्राद्ध गरेका थिए । त्यसपछि अन्यजनले श्राद्ध गर्ने चलन चलाएको महाभारतको आदि पर्व (९१।५– १०)मा उल्लेख पाइन्छ । श्राद्ध थुप्रै प्रकारका छन्ः नित्यश्राद्ध, नैमित्तिक श्राद्ध, काम्य, सपिण्डी, वृद्धि, पार्वण, गोष्ठी, शुद्धि, कर्माङ्ग, तीर्थश्राद्ध आदि ।

पितृ देवो भव (कठोपनिषद्) अर्थात् पितृ हाम्रा देवता हुन् । पितृको सम्मान गर्न सकियो भने मात्र हाम्रो कल्याण सम्भव छ । किनकि हामीमा पितृको बीज छ । आजको सुनौलो वर्तमान दिने र इह लोकमा बाच्न सिकाउने पितृहरू हाम्रा धरोहर हुन् । इतिहास भूतकालीन भए पनि भविष्यलाई डोडोच्याइरहेको हुन्छ । आजको पितृ सम्मान नै भोलिको सुन्दर भविष्य हो । पुर्खा हाम्रा मार्गदर्शक हुन्। तिनै ऋषिहरूको मार्गदर्शनले आज ज्ञान विज्ञानको विकास भइरहेको छ । अतः मानव कल्याणका निम्ति पनि पितुप्रति श्रद्धा भाव र सम्मान व्यक्त गर्नु आवश्यक छ ।

http://www.eagronews.com बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय