कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले किसानहरु मर्कामा परेका बेला राज्य टुलुटुलु हेरेर नबस्ने बताएकी छिन् । कोरोना महामारीले कृषि क्षेत्रमा पारेको प्रभाव तथा महामारीले कृषि उत्पादनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन र उत्पादित उपजरवस्तुको बजारीकरणमा सहजिकरण गर्ने उद्देश्यले बुधवार मन्त्रालयले सरोकारवालाहरुबीच आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
सरकारका तर्फबाट संकटको समयमा गर्नुपर्ने कामहरुमा आवश्यक छलफल गरी अगाडी बढ्ने बताउदै मन्त्री अर्यालले जनतालाई अप्ठ्यारो पर्दा राज्य टुलुटुलु हेरेर बस्न नसक्ने, त्यसको आवश्यक समाधानका निम्ती पहल गर्ने बताइन् ।
‘जनतालाई अप्ठ्यारो पर्दा कोही पनि टुलुटुलु हेरेर बस्ने सकिदैन। सामुहिक समस्या समाधान गर्न के गर्न सक्छौ त्यसमा हामी लाग्छौ’, मन्त्री अर्यालले भनिन्,‘संकटमा गर्नुपर्ने कामसँग जोडिएका कुरासँग हामी अगाडी बढ्छौ। यो हामि सबैको साझा समस्या हो। त्यो महसुस गरेर एकजुट भएर समस्या समाधानमा अगाडी बढ्नेछौ।’ अहिलेको महामारीले सबैलाई समस्यामा पारेको भन्दै त्यसको समाधानका निम्ती सबै एकजुट भएर काम गर्न आवश्यक रहेको उनको भनाई थियो।
कोभिड महामारीका कारण कृषि उपज वस्तुको मूल्य घट्यो भन्ने गुनासो आएको भन्दै उनले उक्त विषयमा केही राहतको प्रबन्ध गर्न सकिन्छ की भनेर मन्त्रालयमा छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । ताजा तरकारीको ढुवानीको व्यवस्थाका सम्बन्धमा आवश्यक पहल गरिने भन्दै मन्त्री अर्यालले यसविषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र छिट्टै आवश्यक पहल गरिने बताइन् ।
‘तत्कालको समस्या समाधानसँगै दीर्घकालका लागि पनि समस्या समाधान गर्नेगरी अगाडी बढिने उनले बताइन् । मन्त्री अर्यालले भनिन्, ‘तत्कालको समस्या समाधानसँगै दिर्घकालका निम्ती पनि केही समाधान गर्नेगरी खासगरी ढुवानी र अनुदानका सम्बन्धमा केही व्यवस्था गर्न सकिन्छ की भनेर हामी छलफल गर्छौ। अनलाइनमार्फत माग आपुर्ती र व्यवस्था संकलन गर्न तथा टेलिफोनबाट कृषकको अवस्था बुझ्ने कार्यलाई पनि अगाडी बढाउछौ।’
त्यसै अवसरमा बोल्दै मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले महामारीका कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्न मन्त्रालय गम्भीर रहेको र आवश्यक छलफल गरी पहलकदमी अगाडी बढाइने बताइन् ।
त्यस अवसरमा कार्यक्रमका सहभागी किसानहरुले महामारीका कारण कृषि उत्पादनका मूल्य न्यून हुँदा बिक्री बितरणमा समस्या उत्पादन भएको बताएका थिए। कतिपय तरकारी स्वदेशमा नै उत्पादन भइरहेको सन्दर्भमा भारतबाट पनि आयात भएका कारण किसान मर्कामा परेको उनिहरुले बताएका थिए।
अहिले खासगरी ताजा तरकारीहरुमा मूल्यमा किसानहरु मर्कामा परेको तर ढुवानीमा भने समस्या नभएको उनीहरुको भनाई थियो। यसअघि कोरोना महामारीको दोस्रो लहर बढ्दै जाँदा विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको पहिलो दिनमै त्यस्तै मन्त्री अर्याल र मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखि ढुवानीमा सहजिकरण गरिदिनका निम्ती आग्रह गरेकी थिइन् ।
मन्त्रालयले वैशाख १५ गते भेटेनरी अस्पताल, क्लिनिक, प्रयोगशाला, पशु चिकित्सा सेवा सञ्चालन, पशुपंक्षी तथा मत्स्य फार्म सञ्चालन, पशु तथा पशुजन्य उद्योगसम्बन्धी कार्यहरु, पशुपंक्षीको ओसारपसारमा प्रयोग गरिने ढुवानीका साधनहरु, दुध तथा दुग्ध पदार्थ, अण्डा, मासु तथा मासुजन्य पदार्थको ढुवानी बिक्री वितरण, दाना तथा दानाको कच्चा पदार्थ, चल्ला क्रेट, घास, पराल, फिड सप्लिमेन्ट, भेटेनरी औषधी तथा खोप, सिमेन, तरल नाइट्रोजनको ओसारपसार तथा विक्री वितरणमा निषेधाज्ञाका अवधीमा स्वास्थ्य सम्बन्धी मापदण्डलाई पालना गर्नेगरी उक्त सेवाहरु सञ्चालनमा आवश्यक सहजिकरण गरिदिन आग्रह गरेको थियो।









