चर्चित

  धान रोप्ने बेला होस् या मकै गोड्ने । तरकारी लगाउने वा फलफुल गोड्ने जुकसुकै बेला रासायिनिक मलको खोजी हुन्छ । किसानको मात्रै होईन राजनिति गर्ने मान्छेको मुख्य मुद्दा बन्छ – रासायिनिक मल । रासायिनिक मल बिना खेती नै हुदैंन भन्ने धारणा लाई जबरजस्त स्थापित गर्न सबैभन्दा सरकारी निति, सरकारी कर्मचारी र स्वार्थको राजनिति गर्ने नेता कार्यकर्ता बढि जिम्मेवार छन् । राजनितिक दल सम्बद्व किसान संगठनहरु विदेशबाट रासायिनिक मल ल्याउनुप¥यो भन्दै धर्ना गर्छन, जुलुश गर्छन् । तर त्यस्ता संघ संगठनले सरकारले स्वदेशमा नै जैविक खेतीको वातावरण बनाईदिनुप¥यो, सरकारले आत्मनिर्भर अर्गानिक खेती निति ल्याउनुप¥यो भन्ने माग राखेर आन्दोलन गरेको कहिल्यै सुनिदैन ।

गत आर्थिक वर्ष २०७८/०७९ मा तनहूँ जिल्लामा मात्रै ४३४.३०० टन युरिया र २०९.३५० टन डिएपी आयात भएको कृषि सामाग्री लिमिटेड दमौलीले जानकारी दियो । कृषि सामाग्री लिमिटेड दमौलीका अनुसार सरकारले तोकेको मुल्यमा रासायिनिक मल विक्रि गर्ने ७७ वटा डिपो छन् । त्यही मल पनि पर्याप्त नभएको भन्दै किसान गुनासो गर्छन् । अनुदानको मल नपाउँदा कालोबजारी गरी ल्याईएको मल महंगो मुल्यमा किन्न पनि किसान घण्टौ लाईनमा उभिन्छन् । कारण हो रासायिनिक मल विना खेती सप्रिदैन भन्ने भ्रम ।

अधिंकाश किसान रासायिनिक मल र विषादीमा बानी परेपनि रासायिनिक मल बिना पनि खेती सम्भव छ भन्ने तथ्यलाई केही किसानले भने पुष्टि गरेका छन् । देवघाट गाउँपालिका वडा नं ५ का किसान फुलमायाँ गुरुङले ग्रामीण अर्गानिक फार्म मार्फत् नै बर्षेनी सरदर ६ लाख आम्दानी गर्र्दै आउनुभएको छ । विषादी र रासायिनिक मल प्रयोग गरी छिटो फलाईएका र हेर्दा चिल्लो देखिने तरकारी संग बजारमा प्रतिष्प्रर्धा गर्न त गाह्रो भएपनि अर्गानिक कृषि गर्छु भन्दा आफुमा आत्मविश्वास हुने गुरुङको भनाई छ ।

गुरुङले रासायिनिक मलको सट्टा बाख्राको मल र किरा लागे निमको झोल छर्ने गरेको बताउनुभयो । मौषम अनुसारका तरकारी फलाउन कुनै समस्या नभएको गुरुङको अनुभव छ । गुरुङ जस्तै बन्दिपुरका किसान तिलक बहादुर कुँवर पनि आफ्नो मुकुन्देश्वरी अर्गानिक कृषि फार्मले दिएको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । “रासायिनिक मल र विषादी हालेका खानेकुराले आजकल मानिस कम उमेरमै रोगी बन्छन्, कमसेकम आफ्नो परिवार, आफन्त र वरपरका मान्छेलाई स्वस्थ बनाउन सकिन्छ कि भनेर अर्गानिक खेती गरेको हुँ ।” हालै बन्दिपुर गाउँपालिका वडा नं. २ को वडाअध्यक्ष निर्वाचित कुँवरले गाउँपालिका मार्फत् किसानलाई अर्गानिक खेती तर्फ प्रोत्साहन हुने कार्यक्रम ल्याउन पहल गर्ने बताउनु भयो  ।

बायोडायनामिक खेती  पद्वती अपनाउने कृषक महेन्द्र श्रेष्ठ

तनहुँको शुक्लागण्डकी ३ का कृषक महेन्द्र श्रेष्ठले अर्गानिक खेती शुरु गर्नुभएको १० वर्ष भयो । बायोडायनामिक खेती पद्वतीको स्वअध्ययन गरेर त्यसैको प्रयोग गरिरहनुभएका श्रेष्ठ रासायिनिक मलले देशलाई ठुलो नोक्सानी पु¥याईरहेको बताउनुहुन्छ । रासायिनिक मलले एकाध वर्ष केही वढि उत्पादन दिए पनि यो दिर्घकालिन समाधान नभएको र वर्षेनी माटोको उर्वर शक्ति नष्ट गर्दै लगिरहेको श्रेष्ठको भनाई छ । “रासायिनिक मल र विषादीले कालान्तरमा हामीलाई रोगी बनाउँछ । मानिस लागु औषधको कुलतमा फसेजस्तै रासायिनिक मलले माटोलाई दुव्र्यशनयुक्त बनाउँछ । माटोलाई सधैभरी स्वस्थ र जिवीत राख्न दिदैंन ।” श्रेष्ठ भन्नुहुन्छ ।

श्रेष्ठले घर वरपर, खेतबारी, वनजंगलमा नै पाईने झारपात र घरमै पालिएका पशुको गोबर बाट जैविक मल उत्पादन गर्नुहुन्छ । गोबर, सिस्नो, आख्लेझार लगायतका विभिन्न झारको प्रयोग गरेर तयार पारिने मलले जमिनलाई स्वस्थ बनाउनुका साथै सुक्ष्म जीवाणु बचाउन तथा बढाउन, बोटविरुवाको जरा मजबुत बनाउन, वास्तविक स्वाद युक्त गुणस्तरीय उपज उत्पादन गर्न मद्दत पुर्याउँने श्रेष्ठले बताउनुभयो । “प्राङ्गारिक मल बनाउन चाहिने स्रोतहरु हाम्रै वातावरणमा छन् । मल हुने कच्चापदार्थहरुलाई हामीले फोहोर सम्झेर फलिरहेका छौं । हाम्रै वरपर औषधीय मुल्य भएका झारपात, बोटविरुवा छन् । खेतीमा आवश्यक हुने जैविक औषधीहरु बनाउन सकिन्छ।”

बजार सीमीत व्यक्तिको कब्जामा भएकाले प्राङ्गारिक उत्पादन गर्ने किसानलाई प्रोत्साहन नमिलेको श्रेष्ठ बताउनुहुन्छ । सरकारले नै प्रांङ्गारिक खेती पद्वती गर्ने, रैथाने उत्पादन बढाउने र त्यसको बजारीकरण गर्ने निति लिनुपर्र्ने श्रेष्ठको भनाई छ । किसानका समस्याको दिर्घकालिन समाधान गर्न उद्योग खोल्ने तर्फ सरकारले ध्यान दिनुपर्ने श्रेष्ठ बताउनुहुन्छ । “प्रायः सबै किसानले मकै लगाउँछन्, हामी मकै फलाउँछौ तर मकैको कुकिज विदेशको खान्छौ । मकैबाट धेरै चिज बनाउन सकिन्छ तर हाम्रो ध्यान त्यता छैन, मकै केबल पशु आहारा मात्रै भईरहेको छ, जब कि पशुलाई हामी घाँसले मात्रै पनि पाल्न सक्छौ ।” श्रेष्ठले बताउनुभयो ।

पशुलाई घासमा आश्रित गराईयो भने अन्नको आयात कम गर्न सकिने र यहाँ उत्पादन भएका अन्नबाट मानिसकै लागि खानेकुरा तयार पार्न सकिन्छ । “आयातित सामान घटाउने, स्थानीय चिजको प्रयोग गर्न सिकाउने स्थानीय सरकारको निति हुनुपर्छ, आयात गर्दा खर्च हुने पैसा जोगाएर स्थानीय उद्योग खोल्नुपर्छ ।” श्रेष्ठ भन्नुहन्छ “तर सरकारका प्राविधिकहरुले अनेक वहाना बनाएर आयातित रासायिनिक मल हाल्न सिकाउनुहुन्छ । किरा लागे विषादी छर्न सिफरिस गर्नुहुन्छ, पशुलाई घाँस भन्दा आयातित दाना चोकर खुवाउन सिकाउनुहुन्छ, यो देशको ढुकुटी रित्याउने उपाय हो । देशको ढुकुटी जोगाउने हो भने प्राङ्गारिक खेती नै गर्नुपर्छ ।”

गाउँमा उहाँले प्राङ्गारिक खेती शुरु गर्दा वरपरका मानिसले उहाँलाई उत्पादन हुदैंन भनेर चिन्ता देखाएका थिए । तर अहिले उत्पादित फसल देखेपछि रासायिनिक मल नहाली पनि कसरी यति राम्रो मकै फलाउनुभयो ? भनेर तिनै मानिसहरु सोध्न आउँछन् । “जसले रासायिनिक खेती गर्नुहुन्छ, उहाँहरुले यो खेती नै हुदैंन भनिरहनुभएको थियो। रासायिनिक मल हालेको बालीमा हार्मोनल चेञ्ज छिटो हुन्छ, जस्तै, रासायिनिक मल हालेको मकै २०/२५ दिन छिटो पाक्छ, जैविक पद्वति अनुसार गरिएको मकै ती मकै भन्दा २०÷२५ दिन ढिलो पाक्छ तर युरिया मलले विरुवामा पानीको मात्रा चाहिनेभन्दा धेरै बढाईदिने हुनाले किराले छिटो डस्छ । तर प्राङ्गारिक वालीमा जति चाहिन पर्ने हो, त्यसभन्दा बढि पानीको मात्रा हुदैंन, त्यसै कारणले किराले डस्न सक्दैन ।”

आजकल झार फाल्न समेत रसायन प्रयोग गरिन्छ । श्रेष्ठको विचारमा झार हटाउन रसायन हाल्नु भनेको जमिनमाथि गरिएको अत्याचार हो । “गर्मीमा हामी घरलाई सितलो बनाउन कुलर लगाउँछौ, झारपातले जमिनका लागि कुलरको काम गर्दछन् ।” श्रेष्ठले भन्नुभयो “झार झन्झट होईन, के चिजको कमी छ भन्ने जनाउने संकेत हो । जुन चिज हामीलाई चाहिएकै छैन, फोहोर ल्याएर फालेर पैसा लिएर गएको हो नि त, यो त एकप्रकारको डकैत हो जस्तो लाग्छ मलाई त । झार भईरहेको माटो हेर्नुस, र नाङ्गो जमिनको माटो हेर्नुस् कति फरक हुन्छ ? कालो प्लाष्टिकले मल्चिङ गर्नु एक प्रकारको डकैती हो ।”

रासायिनिक मलको असर स्वरुप आजकल धानमा खेतमै घुन, पुत्ला लाग्छ । खेतीमा किरा लाग्यो भनेर किराफट्याङ्ग्रालाई मार्ने विषादी छर्कने गरिन्छ । तर किराफट्याङ्ग्रालाइ मार्नु हुर्दैन, धपाउने मात्रै हो । प्रकृतिमा एक चिज मासियो भने अर्को चिज पनि मासिन्छ । विषादीमा फजुल खर्च भएको किसानलाई पत्तो नै छैन, किरा लाग्नु, रोग लाग्नुको कारण विकासे मल, विकासे विऊ हो भन्ने थाहा नहुदाँ किसानले फजुल खर्च गरिरहेको र ठुलो मात्रामा बाहिर पैसा गईरहेको श्रेष्ठ बताउनुहुन्छ ।

“हामी कति सम्मको परनिर्भरतामा बस्ने हो त नि ? आत्मनिर्भर हामी कहिले हुने ?” श्रेष्ठ प्रश्न गर्नुहुन्छ – “नगरपालिकाले दिने अनुदान भनेको के काउली, बन्दा र मुलाका विकासे विऊहरु मात्रै हुन् त ? जेनेटिकली मोडिफाईड विऊको उब्जनीको असर हाम्रो स्वास्थ्यमा देखिन्छ । हामीले जस्तो खायो, हाम्रो शरीरले त्यस्तै प्रतिक्रिया दिन्छ । भोक मेट्न मात्रै खाने होईन वास्तविक पोषक तत्व खानको लागि त जमिन नै पोसिलो हुनु पर्दछ ।”

जैविक कृषि सिक्दै लेखक वाग्ले

चर्चित लेखक तथा पत्रकार नारायण वाग्ले प्राङ्गारिक कृषिका लागि गाउँ फर्कनुभएको छ । लामो समय नेपाली पत्रकारितामा बिताउनुभएका वाग्ले माटो प्रेमले कृषिमा लागेको बताउनुहुन्छ । “किसानलाई कृषिबाट विमुख गर्ने राज्यको चरित्र भयो । कृषि अपहेलित भयो । यसरी कृषि गर्न सिकौं, ताकि कृषकले आत्मसम्मान पाउने बाटोको खोजी होस् । बढि भन्दा बढि माटोको माया गर्न किसानलाई उत्साहित गर्ने उपायहरु के के हुन्, पत्ता लगाउन सकियोस्, यही सिक्न लागेको छु वाग्लेले बताउनुभयो ।”

जैविक खेती शुरु गरेका लेखक नारायण वाग्ले 

वाग्लले यो वर्ष १५ थरी रैथाने जातका धान लगाउनुभएको छ । खेत नजिकैको बाँझो सिरुवारीमा फलफुलका विरुपा रोप्नुभएको छ भने नजिकै रहेको चिलाउनेको जंगलमा जडीबुटी लगाउनुभएको छ । वनजंगल, पशुपालन र खेतीपाती विच सहजीकरण गरेर नै मानिसले पोषणयुक्त लाभ लिन सक्ने वाग्लेको विश्वास छ ।

रासायिनिक मलको प्रयोग गर्ने कृषि नितिले माटोलाई सबैभन्दा बढि असम्मान गरिएको वाग्लेको भनाई छ । शुन्य रासायिनिक मल को निती कार्यान्वयन हुन सक्दैन भन्ने सोचाई विस्थापन गरी जैविक कृषि पद्वती स्थापित गर्न रासायिनिक मल र विषादी प्रयोग नगर्ने दृढता सहित खेती शुरु गरेको वाग्लेले बताउनुभयो ।

“मेरो मुख्य ध्येय सिक्ने हो । सिक्ने पहिलो पाठशाला सम्झना हो । यसठाउँका बुढापाकाको सम्झना के ले बाधिँएको छ त भन्दा उहाँहरुले बर्मेली धानको चिउरा खाएको सम्झनुहुन्छ, मैले बर्मेली धानको चिउरा खानुप¥यो, बुढापाकाको सम्झनाहरु मध्ये केही कुरा अवलम्बन गर्दैछु ।” वाग्ले भन्नुहुन्छ । “रासायिनिक मलले उत्पादन बढायो यो सही हो तर अहिले उत्पादित खाद्यान्नको गुणस्तर र पोषणमा मलाई एकदमै ठुलो सन्देह छ, वास्ना छैन, स्वाद छैन, अडिलोपना पनि छैन । एक थाल भात खाने मान्छे पनि एकैछिनमा भोकाउँछ । उत्पादन मात्रै बढाउने धारणाले रासायिनिक मल प्रयोग गर्ने, किरा आउँछ, त्यसलाई विषादी हालेर मादिर्ने त्यो खालको सोचाईले माटो विगा¥यो, ईकोलोजी विगा¥यो, प्रकृति विगा¥यो, वास्ना विगा¥यो, कृषि नै विगा¥यो ।

एक अजुंली माटोभित्र छान्नै नसकिने अथाह जीवाणु छन् । यो चाहि जीवाणु चाहिदैन भनेर विष हाल्दा त अरु धेरै जीवाणु मर्छन् नि । यो नैतिक प्रश्न हो । त्यसरी उत्पादन गरिएको खाना के नैतिक होला त ?” वाग्लेको प्रश्नको जवाफसँगै जैविकताको महत्व जोडिएर आउने निश्चित छ । यसको कार्यान्वयनका लागि किसानलाई जानकारीको खाँचो छ भने सरकारले नीति ल्याउन ढिला भइसकेको छ ।

 
अस्मिता खनाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय