चर्चित

नेपालका विभिन्न ठाँउमा उत्पादन हुँदै आएका रैथाने धानहरु लोप हुने अवस्थामा पुगेका छन् । कालानमक, गौरिया, आपसुक्ते, झिनुवा, रातो अनदी, थापाचिनी र स्यामजिरा, जोराइली, मोटो जर्नेली लगायतका स्थानीय जातका धान लोप हुने अवस्थामा पुगेका हुन् । किसानहरूले बढी उत्पादन हुने उन्नत तथा हाइब्रिड जातका धानखेती गर्न थालेपछि रैथाने जातका धानहरू हराउँदै जान थालेका हुन् । रैथाने जातको धानको बजार मूल्य अन्य धानको तुलनामा धेरै छ । तर उत्पादन कम हुने भएकाले विभिन्न जिल्लाका किसानले स्थानीय जातका धानको खेती गर्न छाडेका कछन् । कृषकहरु बढी उत्पादन हुने उन्नत तथा हाइब्रिड जातका धानखेती गर्न थालेका छन् । मसिनो, बास्नादार र स्वादिलो भएका कारण झिनुवा, रातोअनदी, थापाचिनी, स्यामजिरा, कालानमक र मसिनो बासमती जस्ता स्थानीय जातको चामल उपभोक्ताबीच लोकप्रिय छ ।

                                 अशिम सापकोटा, एग्रो टाइम्स ब्युरो

नवराज घोरासैनी र भगवति दंगालले २०६२÷६३ सालतिर गाएको पुरानो काँठेभाकाको लोकगीत हो यो हाइ झुल्यो मार्सी धानको खेत, सललल । सिन्धुपाल्चोक मेलम्ची स्थायी घर भएका घोरासैनीले लय संकलन गरेको यो गीतको शब्द संकलन उनका भाइ विदुर घोरासैनीले गरेका थिए । तत्कालिन समाजका चलेका रितिरिवाज, चलन प्रचलन, ठाँउ, परिवेश, परिस्थिति, प्रकृति, मान्यता, संस्कार जस्ता विषय लोकगीतको गेडामा समावेश हुन्छ । यो गीतमा समावेश भएको ‘हाइ झुल्यो मार्सी धानको खेत, सललल बग्दै आयो इन्द्रावती भोटेकोशी’ ले पनि मार्सी धानकै झल्को दिन्छ ।

काँठेभाका खासगरी काठमाडौं उपत्यकाको काँठ क्षेत्र र नजिकका जिल्लाहरुमा गाइने लोकभाका हो । हामी यहाँ कुनै लोकभाका वा त्यसका अंगको ब्याख्या गर्न लागिरहेका होइनौं । त्यो लोकगीतमा समावेश भएको ‘मार्सी धानको खेत’ र त्यसमा पनि ‘मार्सी धान’ सहित नेपालका अन्य रैथाने धानको बारेमा केही खोजिनीति हाम्रो प्रयास हो ।
धानविज्ञ भोलामानसिंह बस्नेतका अनुसार मार्सी धानको खास क्षेत्र भनेको जुम्ला हो । त्यसो भए सिन्धुपाल्चोक मेलम्चीका विदुर घोरासैनीले ‘मार्सी धानको खेत’ कसरी प्रयोग गरे त ? ‘कला साहित्यले अलौकिक (दुनियामा नभएको केबल कल्पना मात्रैको) कुरा पनि गर्छ, मार्सी धान लौकिक (मानिसले देख्न, छुन वा महसुस गर्न सक्ने) कुरा मात्रै होइन, हाम्रै देशको भूभागमा फल्ने धान हो, हाम्रा शासकवर्गले खाने भनेर मार्सी पहिलादेखि नै चर्चामा थियो, त्यसैले यो गीतमा मार्सी धान प्रयोग भएको हो,’ सो गीतका लय संकलक तथा गायक नवराज घोरासैनी भन्छन् ।

मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात ख्वाएपछि अहिले जहाँसुकै ‘मार्सी चर्चा’ छ । तर, काठमाडौंले वा भनौं पूरै नेपालले यसअघि पनि गीतको माध्यमबाट पनि मार्सी नसुनेको भने होइन रहेछ । प्रसाईले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई ख्वाएपछि मार्सी चामल चर्चामा आयो । के मार्सी धान जस्तै महत्व बोकेका अरु रैथाने धान नेपालमा छैनन् त ? यसै विषयमा खोजी गर्ने प्रयास गरेका छौं । बरिष्ठ धान बाली विशेषज्ञ भोलामानसिंह बस्नेतका अनुसार मार्सी धान नेपालको जुम्लामा विश्व कै उच्च स्थान फल्ने धान हो ।

धानविज्ञ भोलामानसिंह बस्नेतका अनुसार मार्सी धानको खास क्षेत्र भनेको जुम्ला हो । त्यसो भए सिन्धुपाल्चोक मेलम्चीका विदुर घोरासैनीले ‘मार्सी धानको खेत’ कसरी प्रयोग गरे त ? जसरी नेपाल विश्वकै सर्वोच्च शिखर सगरमाथा भएको देश र गौतम बुद्ध जन्मिएको देश भनेर विश्वभर प्रख्यात छ, त्यसैगरी विश्व कै सर्वोच्च स्थानमा मार्सी धान फल्ने देश पनि नेपाल हो भनेर चिनाउनु पर्ने धानबाली विशेषज्ञ बस्नेतले बताए ।

पछिल्लो समय नेपालको तराई भेगमा करबि ७४, मध्य पहाडी क्षेत्रमा ३० र उच्च पहाडी क्षेत्रमा १० प्रतिशत उन्नत जातका धानको खेती हुँदै आएको छ । वर्षेनी नयाँ र उन्नत जातका धानखेती गर्ने क्रम बढ्दै गएका कारण धानका रैथाने जातहरू संकटमा पर्ने खतरा बढ्दै गएको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले जनाएको छ । हाल जिन बैंकले ११ हजार रैथाने बीउ बैंकमा राखेको छ ।
पछिल्ला दिनहरूमा किसानका खेतमा कालो रंगका स्यामजिरा, कालानमक र मसिनो बासमती धानका बालाहरू झुलेको देखिन छाडेका छन्। जनसंख्या वृद्धिलाई मुख्य समस्या बनाएर अहिले किसानले उन्नत र हाइब्रिड जातका धानखेती गर्दै आएको किसानहरु बताउँछन् । ‘नयाँ पुस्ताले रैथाने बिउको प्रयोग गर्नै चाहदैनन् । ‘रोगप्रतिरोधात्मक धानको बिउ अहिले लोप भयो, व्यापार व्यवसायतर्फ नयाँ पिढी लाग्दा दोस्रो पुस्ताले हाम्रा बाउबाजेले यो धानखेती गर्थेर भनेर चकित पर्ने दिन आउन सक्ने खतरा रहेको दाङ्गका एक अली पाका किसानको महसुस छ । मसिनो बासमती, कालानमक र स्यामजिरा जस्ता धानका लागि अन्य जातका धानको भन्दा धेरै पानी चाहिन्छ। । पश्चिम तराईका अधिकांश जिल्लामा पर्याप्त सिँचाइको सुविधा नभएका कारण किसानले पानी बढी चाहिने बासमती र स्यामजिरा जस्ता स्थानीय जातका धानहरू खेती गर्न छाडेर सुख्खा सहन सक्ने राधा ४, सुख्खा १ देखि सुख्खा ६ सम्मका उन्नत जातका विभिन्न हाइब्रिड धानखेती गर्न थालेका छन्। रैथाने जातका धानहरू प्रति हेक्टर ३ मेट्रिक टनसम्म उत्पादन हुन्छ भने उन्नत र हाइब्रिड जातका धानहरू प्रति हेक्टर ५ मेट्रिक टनसम्म उत्पादन हुन्छ ।

रैथाने स्थानीय जातका धानखेतीलाई प्रबद्र्धन गर्नुपर्नेमा कृषि बैज्ञानिक पनि सहमत छन् । तर आयात प्रतिस्थापनका नाममा हाइब्रिड धानले धेरै बजार ल्याएको छ ‘रैथाने स्थानीय जातको धानको चामलको बजारमा अत्यधिक माग छ, किनकि त्यो धानको चामलमा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ ।’ एन्टिअक्सिडेन्टको मात्रा कम भएको धानले केही दीर्घरोगका बिरामीलाई सामान्य समस्या हुने हुन्छ, किनकि यस्ता धानको चामलमा फाइवरको मात्रा कम र ग्लुकोजको मात्रा केही बढी पनि हुने समेत विज्ञहरुको भनाइ छ ।
रैथाने जातका आफ्नै किसिमका विशेषता रहने र यसको संरक्षणको विषय राज्यस्तरका साथै जनस्तरमा पनि बढीरहेको पाइएको छ, तर यसको संरक्षण र प्रवद्र्धनका लागि राज्यले ठोस निती ल्याएर किसानलाई रैथानै धानको उत्पादनमा प्रोत्साहन र अनुदानको पनि व्यवस्था गर्नुपर्छ, अनी मात्र लोप हुन थालेका हाम्रा विभिन्न रैथाने धानहरुको चर्चासँगै उत्पादन, प्रवद्र्धन, संरक्षण र उपभोग पनि अवश्य बढ्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय