
डा. टेक बहादुर गुरुङले जापानबाट उपहार ल्याएको ट्राउट माछा ३० जिल्लामा फैलिसक्यो
आज शहरका मेनुमा ट्राउट अटाएको छ । त्यति मात्र होइन, जहाँजहाँ ट्राउट पालन छ त्यहाँत्यहाँ रेष्टुराँ खोलिएका छन् । तिखा काँडा नहुने, खान पनि स्वादिलो भएकाले रेन्बो ट्राउट माछा नेपालमा लोकप्रिय बन्यो । प्रोटिन र ओमेगा थ्रि तत्त्व प्रचुर मात्रामा पाइन्छ ट्राउटमा । प्रोटिनले शरीरको वृद्धि गराउँछ भने ओमेगा थ्रिले रक्तसंचार र मस्तिष्क विकासमा मद्धत गर्छ । डा. टेक बहादुर गुरुङले जापानबाट उपहार ल्याएको ट्राउट माछा ३० जिल्लामा फैलिसक्यो । यतिबेला उनी ‘ट्राउट टुरिजम’ विकास गर्न उद्यमीलाई हौस्याउँदैछन् ।
नेपाली माझ लोकप्रिय बन्दै गएको यति मिठो ट्राउट माछा नेपालमा भित्र्याउने श्रेय डा. टेकबहादुर गुरुङलाई नै जान्छ । उनले जापानबाट उपहारमा ल्याएको ट्राउट माछा मुलुकभित्र ३० जिल्लामा फैलिसक्यो । उनले सन् १९८८ मा जापानबाट ट्राउट ल्याएका । यसको रोचक कथा छ । उनी सन् १९८७ को अक्टुबरमा मत्स्यपालन तालिम लिन जापान जाने मौका पाए । तिनताका उनी मत्स्य अनुसन्धान केन्द्र पोखरामा काम गर्थे । उनले ९ महिनासम्म मियाजाकी प्रदेशको कोबायासी सहरमा तालिम लिए । तालिम सकिने बेला एउटा कार्यक्रममा त्यहाँका गर्भनर आएका थिए ।
तालिमेहरूका तर्फबाट टेकबहादुरको प्रस्तुति सुनेर ती गर्भनर प्रभावित भएछन्, ‘मिस्टर टेकबहादुर तिमीलाई के उपहार दिउँ ?’
‘हामी नेपालीमा प्रोटिनको कमी छ । ट्राउट माछा लान पाए त्यसको पूर्ति हुन सक्थ्यो कि ।’, गर्भनरले सोध्नेबित्तिकै हाम्रा टेकबहादुरले भनेछन्, ‘जापानको जस्तै हावापानी भएको नेपालमा ट्राउट फस्टाउन सक्छ । ’
‘लौ त्यसो भए आवश्यक तयारी गनुसर््’, गर्भनरले सहमति जनाएछन्। नेपाल फर्केपछि हाम्रा डाक्टर सापले आवश्यक प्रक्रिया पूरा गरे। कृषि विभागबाट पत्र लेखाएर जापान पठाए । उताबाट ४ महिनापछि भाले लागेको ५० हजार अण्डा आयो । डाक्टर साप पोखराबाट तीन महिना काजमा गोदावरी आए। र, अण्डा कोरले । ९९ प्रतिशत भुरा जन्मे ।
भुरा त जन्मे तर हुर्काउन दानाको समस्या भयो । फलस्वरूप केही माछा मात्र बाँचे । उनीहरू निरन्तर दाना उत्पादनमा लागे । पछि पोखराबाट डाक्टर साप्को सरुवा गोदावरीमा भएपछि सजिलो भयो। बाँचेका ट्राउट माछालाई जगाइयो। त्यतिबेला हुर्केका सय वटा माउ त्रिशुलीमा पठाइएको थियो । त्रिशुलीमा जापानी स्वयंसेवकले पनि निकै मेहेनत गरे ।
आफैं दाना उत्पादन र हयाचरी निर्माणका काम पूरा गरेर मात्र निजी क्षेत्रलाई माछा पालन गर्न सन् १९९५ देखि दिइएको गुरुङ बताउँछन् । ट्राउट माछाको विकासमा सहकर्मीहरू साधुराम बस्नेत, पुरुषोत्तमलाल जोशी, भोला प्रधान र आशकुमार राईको योगदान अतुलनीय ठान्छन् उनी ।
गुरुङले उपहारस्वरूप ल्याउनु धेरै वर्षअघि राजा महेन्द्रको इच्छामुताविक नेपालमा ट्राउट ल्याइएको थियो । तर, ज्ञान र प्रविधिको अभावमा ती माछा बाँचेनन् । अहिले जति बिस्तार भएको छ त्यो सबै गुरुङले उपहारमा ल्याएका माछाका पुस्ता हुन् । अचेल नेपालमा वार्षिक ५ सय टन ट्राउट उत्पादन हुन्छ । ट्राउट उत्पादन गर्ने अग्रणी जिल्लाको सूचीमा कास्की, रसुवा, नुवाकोट, पर्वत, सिन्धुपाल्चोक, ताप्लेजुङ लगायतको नाम आउँछ ।
ट्राउट माछा धेरै कारोबार हुने क्षेत्र पासाङ ल्हामु राजमार्ग हो । काठमाडौंबाट बालाजु बाइसपासबाट अघि बढेपछि जितपुरफेदीदेखि नै राजमार्ग छेउछाउमा जापानी रेन्बो ट्राउट पाइन्छ भन्ने व्यानर झुण्डाएका रेष्टुराँ छन् । त्यसैले जनबोलीमा यसलाई ‘ट्राउट हाइवे’ भनिन्छ । ट्राउट खासमा अमेरिकाको रैथाने माछा । नेपालमा जापानबाट ल्याइएकाले ‘जापानी रेन्बो ट्राउट’ भनिएको। झलक्क हेर्दा इन्द्रेनी रंगको देखिन्छ । तर सबैतिरका माछा इन्द्रेणी रंगका हुँदैनन् । हिमालको जराबाट बगेर आएको पानीमा हुर्किएका माछा मात्र इन्द्रेनी रंगका हुन्छन् । जस्तो कि मत्स्य अनुसन्धान केन्द्र त्रिशुलीका माछा इन्द्रेणी रंगका छन् । त्यहाँ हिमालबाट बगेको पानी आउँछ । अन्यत्र खोलाको पानीमा पालिएका माछा काला रंगका हुन्छन् ।
स्वभाविक छ चिसो ठाउँको उत्पादन स्वादिलो हुन्छ। त्यसैले चिसो पानीमा हुर्कने ट्राउट पनि स्वादिलो हुने नै भयो। गुरुङका अनुसार निरन्तर बगिरहने ९ देखि १८ डिग्री सेन्टिग्रेडसम्मको पानीमा ट्राउट माछा राम्रो उत्पादन हुन्छ । तापक्रम २२ डिग्री पुगेपछि माछा बाँच्दैन । स्वादका हिसाबले दुई सय ग्रामका माछा बेस मानिन्छ । १४ महिनामा ट्राउट दुई सय ग्रामका हुन्छन् । लामो समय पालेमा ६ किलो सम्मका बन्छन् । आफुले भित्र्याएको ट्राउट फैलँदै जाँदा गुरुङ गद्गद् छन् । अब ‘ट्राउट टुरिजम’ विकास गर्न उद्यमीले पहल गर्नु पर्नेमा उनको जोड छ ।
‘हिमताल वा हिमतालबाट बगेर आएको पानीमा ट्राउट पालन गर्नु पर्छ । त्यसो गर्न सके पर्यटकहरू फिसिङ र एंगलिङ गर्नकै लागि भनेर नेपाल आउन सक्छन् ।’, उनी सुझाउँछन्, ‘हिमाली सौन्दर्य अवलोकन गर्दै ट्राउट फार्ममा हप्तौं दिनसम्म बस्न सक्छन् ।’ संसारमा शौखिन मत्यस्प्रेमिको संख्या बढ्दै छ ।
स्याङ्जाका गुरुङ ६० वर्षका भए । हाल उनी कृषि अनुसन्धान परिषद् (नार्क)का कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत उनी भर्खरै मात्र अवकाश प्राप्त हुन् । ट्राउट माछाले बेग्लै सम्मान दिलायो । हिजो तालिममा छँदा जापानका गर्भनरसँग उपहारमा कुनै टेपरिकर्डर वा घडी मागेका भए के हुन्थ्यो ? ती थोत्रा भएर मिल्किसक्थे । ट्राउट मागेकाले त्यसको स्वाद हामी पनि चाख्दैछौं ।