श्रमको सुगन्ध र स्थिरताको संकल्प
आफ्नो पसिनाको मूल्य बुझेको र माटोमा भविष्य देख्ने स्वाभिमानी नागरिक कहिल्यै कसैको दास हुन सक्दैन । यही अकाट्य सत्यलाई आफ्नो जीवनको मूल मन्त्र बनाएका एक निडर र स्पष्ट वक्ता हुन् । विजय कुमार शर्मा। रुकुम पश्चिम, चौरजारी–१३ का स्थायी बासिन्दा शर्मा केवल एउटा व्यक्ति मात्र होइनन्, उनी नेपाली माटोमा आत्मनिर्भरताको बीउ रोप्ने एक प्रखर विचार र विद्रोही चेतनाका संवाहक पनि हुन् । पेशाले कुशल पशु व्यवसायी र स्वभावले जुझारू सामाजिक अभियन्ता शर्माको परिचय अहिले लेखक र पदयात्रीका रूपमा थप चुलिएको छ ।
पसिनादेखि पुस्तकसम्मः आत्मनिर्भरताको प्रस्थानविन्दु
लामो समयदेखि पशुपालन व्यवसायमा संघर्ष गर्दै आएका शर्माले आफू र आफ्नो परिवारलाई मात्र यो व्यवसायबाट आत्मनिर्भर बनाएका छैनन्, बरु सिङ्गो नेपाली युवा पुस्तालाई ’स्वदेशमै सम्भव छ’ भन्ने बलियो आत्मविश्वास समेत बाँडेका छन् । नेपालको आर्थिक समृद्धिको निर्विकल्प आधार कृषि नै हो भन्ने उनको दृढ विश्वास छ । तर, त्यो कृषि परम्परागत मात्र नभएर आधुनिक र औद्योगिक हुनुपर्छ भन्ने उनको जिकिर छ । आफ्ना लेख र रचनाहरूमार्फत उनले निरन्तर भन्दै आएका छन्– “नेपालको माटो, नेपालीकै धन हो । युवाहरू विदेश पलायन हुनुको साटो आफ्नै माटोमा पसिना बगाउने हो भने रोजगारी र सम्पन्नताका लागि कतै भौंतारिनु पर्दैन । यही सन्देशलाई उनले आफ्नो पुस्तकमा जीवन्त रूपमा उतारेका छन्, जसले कृषिलाई केवल निर्वाहमुखी पेशा मात्र नभई एक सम्मानित उद्यमका रूपमा स्थापित गर्न प्रेरित गर्दछ ।
मेची–महाकाली पदयात्राः स्थिरता र सुशासनको खोजी
लेखन र व्यवसायबाट आर्जित अनुभवलाई समाजको बृहत्तर हितमा लगाउने संकल्पका साथ विजय कुमार शर्मा अहिले १२ सय किलोमिटर लामो मेची–महाकाली पदयात्रामा निस्किएका छन् । माघ २१ गते झापाको मेची पुलबाट सुरु भएको यो महायात्रा केवल शारीरिक हिँडाइ मात्र होइन, यो त देशको राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि गरिएको एक वैचारिक पैदल यात्रा पनि हो । ’स्थिर सरकारः युगको आवश्यकता’ भन्ने मूल नारा बोकेर सडकमा उत्रिएका शर्माले यात्राका क्रममा आम नागरिकसँग साक्षात्कार गर्दै देशको अवस्था र आवश्यकताको बारेमा घनीभूत बहस गरिरहेका छन् ।
देशमा राजनीतिक स्थायित्व नभएसम्म कृषिको आधुनिकीकरण र उद्योगको विकास सम्भव छैन भन्ने उनको ठम्याइ छ । त्यसैले, एउटा उद्यमी जब देशको विसंगतिविरुद्ध पदयात्रामा निस्किन्छ, त्यसले राज्यको मूलधारलाई एक गम्भीर प्रश्न र सन्देश प्रवाह गर्दछ ।
अनुभवको संकलन र आठौँ दिनको गन्तव्य
आफ्नो यात्राको नवौँ दिनमा आइपुग्दा शर्माले धनुषाको विरेन्द्र बजार, ऐतिहासिक धनुषाधाम, ढल्केवर हुँदै महोत्तरीको बर्दिवाससम्मको करीब ३०० किलोमिटर दुरी पार गरेका छन् । यात्रा केवल दूरी पार गर्नु मात्र होइन, यो त भोगाइहरूको सङ्ग्रह पनि हो । यात्राका क्रममा शर्माले जहाँ–जहाँ समाजका जीवन्त तस्बिरहरू देख्छन्, त्यहाँ उनी टक्क रोकिन्छन्, फोटो खिच्छन् र आफ्ना भोगाइहरूलाई शब्दमा उतार्छन् । उनको यो शैलीले उनलाई एक सचेत पदयात्रीका रूपमा चिनाएको छ, जो बाटो मात्र काट्दैन, बरु बाटोमा भेटिएका सुख–दुःखका कथाहरूलाई लिपिबद्ध पनि गर्दछ ।
उनको नवौँ दिनको रात महोत्तरीको बर्दिवासमा बित्दै गर्दा, उनमा थकानको रत्तिभर आभास देखिँदैन । बरु, यात्रा जति अगाडि बढ्दैछ, उनी उति नै उत्साहित र संकल्पित देखिन्छन् । यो यात्रा केवल विजय कुमार शर्माको मात्र होइन, यो त आत्मनिर्भर नेपाल देख्न चाहने हरेक स्वाभिमानी नेपालीको साझा सपनाको पदचाप हो ।
अदम्य साहस र महायात्रा
विजय कुमार शर्माका अनुसार, यो यात्रा मेचीदेखि महाकालीको पुल जोड्ने मात्र नभई नेपाली मनहरूमा आशा र भरोसा जोड्ने कडी पनि हो । आफ्नो माटोलाई माया गर्ने, उद्यमी बन्न सिकाउने र देशको स्थिरताका लागि आवाज उठाउने यी विद्रोही यात्रीको संकल्पले पक्कै पनि एउटा सकारात्मक सन्देश प्रवाह गर्नेछ । यात्रा अझै बाँकी छ, तर उनले हिँडेका हरेक पाइलाहरूले नेपालको कृषि र राजनीतिक स्थिरताको बहसलाई नयाँ उचाइमा पुर्याइसकेका छन् ।
विजय कुमार शर्माको यो अदम्य साहस र महायात्राका लागि हामी सबैको तर्फबाट हार्दिक शुभकामना !









